विजय सापकोटा
भोकले प्राण जोतिरहेको
चिसो साँझ,
संसारै च्यातुँला झैं
आँगनभरी वर्सिएका
सेता,गोला दानाहरुको पहाड देखाउँदै
सोध्छ भोको छोरो–
‘आमा !
कथाको फुलौरा पनि यस्तै हुन्छ ?’
आमाको आँखामा आँसु मात्रै छ
उत्तर छैन
आँखाको दहमा
सर्वनाशको हुण्डरीले जन्माएको आँधी मात्रै छ
खुशी छैन
जाडोले लुगलुग काँपेको छोरोलाई
अर्धानो ओढ्नेले छोप्ने प्रयत्न गर्दागर्दै
छाती चसक्क दुख्छ आमाको–
सहरतिर कतै भौतारिरहेको
एउटा दुःखी आकृति सम्झेर
सानो आफ्नै संसार छैन
मायालाई पीडाले जितेको
लड्नै आँटेको झुप्रोमा बाँचेको छ
रित्तो बिझाउने उपस्थिति
उमेर भरिको कमाई
अभाव बनेर
मझेरीभरि पोखिएको छ
भग्नावशेष जस्तो नियति बोकेको घर
थर्थराउँछ सधैं
आँगनको भत्किएको डीलबाट
चोर बिरालो झैं चिहाउँदा–
शोषणको कालो अनुहार
मुसाले समेत छाडिसकेको सन्नाटा
सारुङले समेत बास छाडेको भयावहता
मेटिन त मेटिन्छ आमाको कथाले
तर
भोकको सारंगी रेटेर
गुन्जिरहेको नमीठो गीत
अहँ मेट्न सक्दैन
कथाका फुलौराहरुले त अचेल
भोक जगाउँछन् मात्रै
‘कति जाति हुन्थ्यो होला हगि
आँगनभरिका असिना बराबर
मकैका दाना भए !’
दुखेका आमाको आँखै मुन्तिर
थामिनसक्नु भएपछि भोकको आँधी
कोमल अँजुलीले
उठाएर भूइँभरिका पग्लँदै गरेका असिना दाना
क्वाप्प मुखमा हालेर
सइन झैं तीखो तर चिसो अनुभवले
आँखाभरि आँसु पार्दै
भन्छ भोको छोरो –
‘त्यसै बिलाएर जाने
यति धेरै फुलौराहरुले पनि
मेरो भोक मेटिएन किन आमा ?’
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |