प्रभातफेरी अनलाइन३०४ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार(१ साल अघि)
सिन्धु पौडेल
दुखिरहन्छ घाउ आफ्नै तालमा
हाँसिरहन्छु म स्वयंको सुरमा
बेहिसाब पीडा लुकाएर
जब,
जिन्दगीले अल्झाइराखेको
मौनता तोड्दै हावा बहन्छ
झस्किन्छु अनायास
दुःखलाई पनि दुखाउने भोगाइहरू छन्
जिन्दगीको अर्को नाम सायद भोगाइ हो
यौवन मुस्कुराउनु
शारदीय फूलसरह
मन उडेर जानु चङ्गाजस्तै
बैँस फुल्नु वसन्त झैं
हौसलाको प्वाँख हालेर
सिकाउँछ उड्न समय
म निरन्तरताको गोरेटो पहिल्याउन
तिम्रै हात अपेक्षाकृत छ
अवश्यम्भावी
म प्राप्तिको पर्खाइमा छु
स्वच्छन्द आकाशमा कावा खाँदै
आफ्नै आत्मविश्वासको धरातलमा
टेकेर
हल्ला गरे पनि तिम्रै लागि
साउती मारे पनि तिम्रै निम्ति
खुसीका मिसायल बटुलेर
रहर ओछ्याएकी छु
तिम्रो मन मर्जीमा
ऐश्वर्य देख्न सक्ने म
यो सिङ्गो देह समर्पित छ
अन्तरात्माको यो मौन स्वीकृति
तिम्रै जीवन्त प्रेममा निहित छ ।