मोहन दुवाल, वरिष्ठ साहित्यकार
“स्वाभिमानी मान्छेहरु यो देशमा बाँच्न गाह्रो ।” घरी–घरी मेरो मानसपटलमा गुञ्जिएको यो हरफले मलाई सधैं पारिजात ब्युँझाइदिन्छ । हो – यहाँ यो देशमा उनीजस्ता स्वाभिमानी धरोहर बाँच्न गाह्रो छ । मदन पुरस्कार होस् वा कुनै पनि विद्वत्वृत्तिमा लोभ नगर्ने उनी । विदेशमा छाइरहने नाम । तर पनि आफ्नो सिद्धान्त र दृष्टिलाई कहिल्यै ओझेल पर्न नदिएकी लेखिका । मोहर टक्र्याएर पुरस्कार थाप्ने कार्यलाई उनले स्वीकारिनन् । तर उनलाई मदन पुरस्कार दिनै प¥यो । विद्वत्–वृत्ति लिइन् तर तोरीबारी बाटा र सपनाहरु देखाउन छोडिनन् । शिरीषको फूललाई थुप्रै भाषाहरुमा उल्था गर्न विदेशी साहित्यकारहरुले रुचि देखाए, तर उनले आफ्नो नैतिकता र स्वाभिमानलाई ढल्न दिइनन् । तर पनि अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा अमेरिकीहरु शिरीषको फूलमा पारिजात छामिरहेका छन् । प्रजातन्त्रप्राप्तिपछि पनि नेराप्रप्रमा प्रजातन्त्र नझुल्केकोमा उनी जुधिन् । कैयौं सहयोद्धाहरु झुके तर उनी मरणोपरान्त पनि प्रतिष्ठानलाई बहिष्कार गरेर गइन् । त्यसैले भन्नुपर्छ हामीले उनलाई – पारिजात साँच्चिकै साहित्यिक मर्म हुन् । मलाई लाग्छ, सायद उनी महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका चर्चित साहित्यकार हुन् । ‘अक्षरभित्रः स्रष्टाहरु–भाग १ ग्रन्थमार्फत् छाम्दा उनी देवकोटापछिका मनपरेका लेखिकाका रुपमा विख्यात रहेको देखिन्छ । यस खालका चर्चित लेखिका जो सधैं जनमनसँग गाँसिएर आफूलाई समर्पित तुल्याएर गएकी मात्र छैनन् यिनले जीवनभर प्रगतिशील भावना र मानवीय आस्था साँचेर लेखन, संगठन, मानवअधिकार प्राप्तिको सङ्घर्षमा समेत लागेकी र द¥हो अडान र अटल आस्था बोकेर आफूलाई जनताकै पक्षमा उभ्याएर गएकी सशक्त लेखिका हुन् । खेदको कुरो यस खालका लेखिका जसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो लेखकीय नाम उजागर गएकी थिइन्, सो लेखिका पारिजातका विरुद्ध किन त्रिविविले बिस बमन गरेर पारिजातसम्बन्धी अध्ययनलाई हटाउन खोज्छ? ‘आख्यानकार पारिजात र उनको आख्यान’ माथि प्रतिबन्धित गरेर देशको आजको घृणित मुहार छलङ्ग देखाइदिने कार्य भएको छ । पारिजातको सुन्दरतामाथि यो कालो पोत्ने काम किन भयो? यो प्रश्न सधैं देशमा गुञ्जिरहने छ !?
पारिजातलाई मैले नजिकबाट देखेको छु –पारिजातलाई साँच्चिकै साहित्यकारका रुपमा उनका कृतिहरुमा छामेको छु । त्यसैले मैले जनमत साहित्यिक मासिकको एउटा अङ्क पारिजात जिउँदै छँदा निकालेको थिएँ । विशेष अङ्क प्रकाशनपछि बनेपामा अभिनन्दन गर्न उनलाई जनमत प्रकाशनका तर्फबाट चाँजोपाँजो मिलाउँदा साधारण रुपमा मात्र कार्यक्रम गर्न अनुरोध गरेको मलाई याद छ । विशेष अङ्क हस्तान्तरण गर्ने शर्तमा मात्र उनी बनेपा आइन् । उक्त समारोहमा थुप्रै साहित्यकारहरुको उपस्थिति थियो । केदारमान व्यथित, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, डा. तुलसीप्रसाद भट्टराई र निनु चापागाईंहरुले आ–आफ्ना सम्मानका शब्दहरु त्यस कार्यक्रममा अभिव्यक्त गरेका थिए । पारिजातले त्यस अवसरमा शालीनताले भरिएका साहित्यिक अभिव्यक्तिहरु सुनाइन् । त्यो क्षण साँच्चिकै भन्ने हो भने बनेपालीहरुका लागि गौरवको क्षण भयोे – इतिहासमा ती गौरवका क्षणहरु बनेपालीहरुसँगसँगै मैले पनि नबिर्सीकन सम्झिरहेको छु । त्यसैले, पारिजातलाई म सम्झिरहेछु – भोलि पनि सम्झिरहनेछु, मेरो मानसपटलमा सधैं–सधैं फुलिरहने वासनादार फूलझैं अवश्य पारिजात फुलिरहनेछ । म गर्वसाथ सुगन्धित फूलको मर्मलाई सुमसुम्याइरहनेछु ।
विष्णुकुमारी वाइवा अर्थात् पारिजातको अवसान वि.सं. २०५० साल वैशाख ५ गते हुँदा मैले उनको भौतिक शरीरलाई केही क्षण भए पनि बोकेको हुँ । उनको निधनपश्चात पनि उनीबारे थुप्रैले विभिन्न पत्रपत्रिकामा पोखेका उद्गारहरु समेटेर पारिजात स्मृति अङ्कका रुपमा जनमतले प्रकाशन गरेको जनमत स्मृतिग्रन्थमा राखेर मैले पारिजातलाई नियालेको छु । वि.सं. १९९४ भदौमा जन्मिएकी पारिजात मभन्दा १२ वर्षले उमेरमा जेठी छन्; साहित्यिक–यात्रामा मैले सधैं–सधैं सम्झिनुपर्ने नाम भइदिएकी छिन् पारिजात । लिङ्गिया चिया कमान, दार्जिलिङमा जन्मिएकी उनले वि.सं. २०११ सालमा कलिलो वैंशमा काठमाडौंमा आएर अङ्ग्रेजी भाषामा स्नातकोत्तरसम्मको अध्ययन गरेको देखिन्छ । माता अमृता मोक्तान र पिता डा.के.एस. वाइवाकी सुपत्री पारिजातले आफ्नी बहिनी सुकन्याको रेखदेख र सहयोगमा काठमाडौंको परिवेशमा जीवनलाई सङ्घर्षमा राखेर निकै कठिनतापूर्वक जीवन–क्रमहरु गुजारेर गएकी थिइन् ।
वि.सं. २०१२ सालमा धरती पत्रिकामा पहिलोचोटि कविता छपाएर साहित्यिक यात्रामा आएकी पारिजातले स्वतन्त्र अध्ययनबाट नै लेख्ने प्रेरणा प्राप्त गरेको देखिन्छ । यिनका प्रकाशित पुस्तकहरुमा उपन्यास विधामा शिरीषको फूल (२०२२), द्यगिभ ःष्mयकब (अङ्ग्रेजी), महत्ताहीन (२०२५), वैंशको मान्छे (२०३४), तोरीबारी बाटा र सपनाहरु, अन्तर्मुखी (२०३३), उसले रोजेको बाटो (२०३४), अनिँदो पहाडसँगै (२०३९), पर्खालभित्र र बाहिर(२०३४), परिभाषित आँखाहरु (२०४६) ÷ कथाविधामा आदिम देश (२०२५), सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३), बोनी (२०४८), वधशाला जाँदा–आउँदा (२०४९), कविताविधामा आकाङ्क्षा (२०१४), पारिजातका कविताहरु (२०४४), वैंशालु वर्तमान (२०५०), निबन्ध–संस्मरणविधामा धूपी, सल्ला र लालीगुराँसको फेदमा (२०४३), एउटा चित्रमय सुरुवात (२०४५), आधी आकाश (२०४८), अध्ययन र सघङ्र्ष (२०५०), पारिजातका फुटकर लेखहरु (२०५४) र अन्तर्घातहरु (२०५४) प्रकाशित छन् । उत्साह प्रगतिशील मासिकको सम्पादकसमेत भई साहित्यमा योगदान पु¥याउने उनले मदन पुरस्कार (२०२२) मा नै प्राप्त गरिन् । त्रिविवि र जनमत साहित्यिक मासिकका तर्फबाट अभिनन्दन (२०४९) मा नै उनी जिउँदो छँदा नै गरिएको हो ।
शिक्षणसेवामा समेत जीवनका केही क्षणहरु गुजारेर गएकी पारिजातले सामाजिक कार्य र राजनीतिक प्रतिबद्धतामा वामपन्थी व्यक्तित्वका रुपमा आफूलाई उभ्याएर जीवनपर्यन्त चिनाएर गइन् । उनले योगदान पु¥याएका सङ्घसंस्थाहरुमा नेपाल मानव अधिकार सङ्गठन केन्द्रीय समितिका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्च केन्द्रीय समितिका अध्यक्ष, प्रगतिशील लेखक–कलाकार सङ्घको सदस्य, प्रगतिशील लेखक सङ्घ राष्ट्रिय परिषद्का सदस्य, बन्दी सहायता नियोगका अध्यक्ष, इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष, क्यअष्भतथ या ध्यmभल न्भयनचबउजभचक (अमेरिका), क्ष्लतभचलबतष्यलब िध्यmभलुक त्चष्दगलभ ऋभलतभच (लन्डन), इगत धचष्तभ आदि हुन् । यी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा संलग्न रहेर सेवा पु¥याएर गएकी साहित्यकार पारिजातले आफ्नो साहित्यिक यात्राको सुरुकालतिर राल्फा साहित्यिक अभियानमा सशक्त हस्तीका रुपमा पनि पहिचान स्थापित गरिन् । उनको देहावसानपछि निर्माण प्रकाशन, सिक्किमले उनका सङ्कलित रचनाहरु प्रकाशन गरेर धेरै राम्रो कार्य गरेको छ, जसको सम्झना सधैं गरिदिनुपर्छ । यस कार्यले पारिजातको जीवन्ततामा थप योगदान पु¥याइदिएको छ ।
उपन्यास, कथा, कविता, निबन्ध र संस्मरण लेखनमा सुन्दर शैली र भाषा प्रयोग गरेर आफ्नै छुट्टै पहिचान बनाउन सफल लेखिका पारिजातका लागि मन पर्ने विदेशी साहित्यकारहरु गोर्की, लू स्यून, चेखब, महाश्वेतादेवी, अन्नपूर्णदेवी, विमलमित्र हुन् । अन्तिम समयसम्म चुरोट सेवन छोड्न गाह्रो मानेकी उनले आफ्नो भविष्यको इच्छामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा लास नलगियोस्, मेरो शवमाथि लेनिनको फोटो राखियोस्, स्वयम्भूमा लगी अन्तिम दाहसंस्कार गरियोस् र शवलाई हरियो रङ्गको पछ्यौरा ओढाइयोस् भनेर लेखेर गएकी हुन् । उनकै इच्छाअनुसार मृत्युपश्चात् उनको दाहसंस्कार स्वयम्भूमा भएको हो ।
“वस्तुगत जगत्को मानव–मस्तिष्कमा पर्ने प्रतिबिम्बको अभिव्यक्ति नै साहित्य हो” भन्न रुचाउने उनी आफ्नो जीवनप्रतिको दृष्टिमा “उमेर र अनुभूतिहरुसँग हेलिँदै, परिवर्तित हुँदै, विकसित हुँदै जाने एउटा निश्चित अवधिको नाउँ जीवन हो” भन्ने गर्थिन् । जीवन सधैं गतिशील छ, जीवनमा विभिन्न अनुभव हुन्छन् – “माया, प्रेम, घृणा, भोक, शोक, यौन, सङ्गति, विसङ्गति, सहअस्तित्व, आशा, निराशाका परिस्थितिहरुसँग जुझ्दै बाँच्न चाहने एउटा प्रबल जिजीविषा हुन्छ” भनेर यिनले आफ्नो अनुभूतिका रुपमा पोखेकी छन् । नेपाली भाषा–साहित्यका फाँटहरुमा सुन्दर सिर्जनाहरु छाड्न सफल अविस्मरणीय साहित्यकार पारिजातलाई देश र जनताले सधैं स्मरण गरिरहनेछन् । सुन्दर, सौन्दर्यमुखी, मग्मगाउँदो वासनादार फूलझैं पारिजात नेपाली साहित्यको इतिहासमा सधैं छाइरहने छिन् । श्रमिक जनताको मुक्तिप्रति विश्वस्त रहने लेखिका पारिजात जनताको आन्दोलनका हिमायती हुन् । उनी सधैं मुक्तिकामी जनताका पक्षमा कलम चलाएर गइन् । आन्दोलन कवितामा उनी यसरी आफ्नो मर्म फुकाउँछिन् ः
होस् गर्नुपर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरुले
शक्तिशालीका मुटु निचोर्ने हातहरु
यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।
पारिजातले देखेको र उनले कवितामा अभिव्यक्ति पोखेको आन्दोलनकोे सफलतापछि मात्र नेपालको सुन्दर मुहार देख्न सकिन्छ भनी उनले लेखेको उनको इच्छा अवश्य साकार हुनेछ ।
सङ्क्षेपमा पारिजातका जीवन–वृत्तहरु मैले जसरी अनुभूत गरें, त्यसैगरी लेखें । पारिजातदिज्यूसँग बिताइएका केहीक्षण र सन्दर्भहरुका कुराहरु पनि यसै लेखमा स्मरण गरिरहेछु । साहित्यकार पारिजातसँग मेरा थुप्रै जीवनका स्पर्शहरु अनुबन्धित छन्; भनौं सम्बन्धमा सम्बन्ध भएको छ । वि.सं. २०३० देखि नै वेदना र म भएर पारिजातदिदीसँग सम्पर्क भएको ऐतिहासिकता बिर्सिपठाउन गा¥हो छ । २०३३ सालतिर धुलिखेलस्थित नवरङ्ग होटेलमा केही दिन बसेको र त्यही होटेलका साहूजी पूर्णमान श्रेष्ठलाई प्रमुख पात्र बनाएर ‘उसले रोजेको बाटो’ उपन्यास लेखेको थियो । त्यसैताका केही दिन धुलिखेल बस्दा उनी बरोबर मेरो निवासघरमा आउने गरेको र आत्मिय सम्बन्ध गाँसिएका कुराहरु सम्झिन लायकका छन् । मेरो बुबा र आमासँग पारिजातदिदीले पोखेका मर्मशील कुरा र सम्बन्धहरु अहिले पनि सम्झिँदा गौरव गर्नलायकका छन् । मेरा बुबा र आमासँगको कुराकानीबाट दिदी प्रभावित नै रह्यो । तपाईंको बुबा निकै तार्किक रहेछ भन्नुहुन्थ्यो ।
२०३४÷३५ सालताका प्रगतिशील लेखक कलाकार सङ्घको केन्द्रीय समितिमा शरद बनेपाको नामबाट त्यस समितिमा म रहँदा एकैखालको प्रगतिशील आस्थामा दिदीसँग आवद्ध थियौं । हाम्रो दृष्टिकोण मिल्थ्यो । त्यसैले २०३९ साल फागुनदेखि हाम्रो अनुरोधमा जनमतमा उहाँले आत्मसंस्मरण लेख्नुहुन्थ्यो । जनमतमा प्रकाशित संस्मरणहरु राखेर पारिजातले पछि धूपी, सल्ला र लालीगुराँसको फेदमा पुस्तक प्रकाशन गरेको थाहा छ ।
चावेलमा भएको प्रगतिशील लेखकहरुको समूहले उत्साह मासिकलाई नियमित निकाल्ने प्रस्ताव पास गराए । त्यहाँ जम्मा भएका जनमानसको अनुरोधमा पाँचजना सम्पादकहरु रहने निर्णय भयो । उत्साहको त्यस सम्पादनमण्डलमा पारिजान र मलगायत रमेश विकल, आनन्ददेव भट्ट र खगेन्द्र संग्रौला रहेका थिए । एक वर्षसम्म नै हामीहरुले उत्साहका सम्पादक भएर साहित्य सेवा ग¥यौं । शरद बनेपाको नामबाट निकै खरो आलोचना लेख्ने गथ्थें । त्यसताका प्रगतिशील साहित्यिक समूहमा मेरा आलोचनाहरुबारे निकै चर्चा–परिचर्चा चल्ने गथ्र्यो । मेरो एउटा आलोचना–लेख ‘आयामेली साहित्यिक धारणा र वैरागी काइँलाका कविताहरु’ मा ‘राल्फाली’हरुको बारेमा नकारात्मक केही टिप्पणी गरेको थिएँ; सायद दिदीलाई मनपरेन, त्यसैले मेरो पछिल्लोपल्ट प्रकाशित ‘आलोचना र परिचय’ को भूमिकामा दिदीले मेरोबारे यस्तो टिप्पणी लेखेका थिए – “आज मलाई कस्तो–कस्तो अनौठो लागिरहेछ । म दुवालजीलाई २०३० सालदेखि चिन्दछु । त्यसको दुई अथवा अढाई वर्षअघि म ‘राल्फा’ सन्ततीमा थिएँ । त्यसताकाका रोमान्सेली विद्रोही दुवालको भाषामा विद्रोह लेखिटोपल्ने, फलाक्ने आदि लेखक आज म प्रगतिशील समालोचक मोहन दुवालजीको पुस्तक ‘आलोचना र परिचय’ मा आनन्ददेव भट्टजीहरुको समकक्ष बसी आफ्नो मन्तव्य लेख्दै छु । परिवर्तनमा विश्वास राख्ने हामीहरुले बिरुवाको पनि राम्रो परिचय लिनुपर्छ । अनि मूल्याङ्कन गर्नुपर्छ ।”
२०४९ साउन–असोज पारिजातको विशेष अङ्क प्रकाशित भएको र उक्त विशेष अङ्क बनेपामा एउटा समारोह गरेर केदारमान व्यथितको प्रमुख आतिथ्यतामा देवकोटाजयन्तिको अवसरमा पारिजातलाई प्रदान गरिएको हो । उक्त अङ्क प्रकाशन गर्न पाएर हामी गौरान्वित भयौं । धेरैजसो प्रगतिशील लेखहरु खुसी पनि भए र कोही÷कोही अरुलाई तल राखेर आफूलाई ठूलो सम्झिनेहरु पनि भए । उक्त अङ्कमा पारिजातप्रति समर्पित भावना पोखेका कविताहरु, पारिजातका कृतिहरुका समालोचनाहरु पारिजातलाई चिठ्ठी, पारिजातप्रति टिप्पणी, उनीप्रति पोखिएका दृष्टि, चर्चा, प्रवचन, संस्मरणहरुलगायत पारिजातका अन्तर्वार्ता प्रकाशित छन् । धेरैले रुचाए उक्त अङ्क अहिले पनि खोज्नेहरु थुप्रै छन् । यसै अङ्कको सार्वजनिक गरिएको साहित्यिक कार्यक्रममा पारिजातदिदीको भव्य सम्मान पनि भएको हो – आजपर्यन्तसम्म पनि उक्त गौरवपूर्ण पारिजातको विशेष जनमत अङ्क र पारिजातको अभिनन्दन गर्न पाएर हामी गौरव गर्छौं ।
२०५० वैशाख ५ मा पारिजातको अवसान भयो । पारिजातको स्मृतिमा नेपालबाट प्रकाशित पत्र–पत्रिकाहरुमा लेख–रचना, समाचार, सम्पादकीयहरु विभिन्न पत्र–पत्रिकाबाट सभार गरी जनमतमा प्रकाशन ग¥यौं । पारिजातको सम्झना पनि ग¥यौं । पारिजातको अवकाशपछि भएको मृत्यु–दिवसको जुलुसमा पारिजातको शव महिलाहरुले मात्र बोकेकोमा मैले पनि केहीक्षणसम्म बोकेर पारिजातप्रति सम्मान प्रकट गरेको याद आजपर्यन्तसम्म आइरहन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |