प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन्।
उनी कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली को आयोजनामा श्रीलंकाको राजधानी कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल पनि सहभागी रहेका छन्।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण, नव–नाजी प्रवृत्तिको विस्तार, एसियामा बढ्दो वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति र स्थायित्वका चुनौती तथा समाजवाद निर्माणका लागि एसियाली मुलुकबीच एकता र सहकार्यलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
श्रीलंका भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवलगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ।