logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

कीर्तिपुर घटनापछि अस्पताल पुगे राजेन्द्र महतो, माजिद अन्सारी प्रकरणमा निष्पक्ष छानबिनको माग

प्रभातफेरी अनलाइन५२ पटक पढिएको | २०८३ श्रावण ३, आईतबार
कीर्तिपुर घटनापछि अस्पताल पुगे राजेन्द्र महतो, माजिद अन्सारी प्रकरणमा निष्पक्ष छानबिनको माग

काठमाडौं, राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पताल पुगेर भेट गरेका छन्। उनले अन्सारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनाबारे सरकारसँग तत्काल जवाफ माग गरेका छन्।

भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महतोले प्रहरीको कुटपिटबाट माजिद अन्सारीको शरीरभरि निलडाम देखिएको दाबी गर्दै उक्त घटनाले राज्यको निरंकुश र विभेदकारी चरित्र उजागर गरेको टिप्पणी गरेका छन्।

महतोका अनुसार भेटका क्रममा माजिद अन्सारीले भावुक हुँदै, “देशको प्रधानमन्त्री आफैँ मधेसी भएको बेला पनि मधेसी भएकै कारण ममाथि यसरी निर्घात कुटपिट किन गरियो? के यो देशमा हाम्रो आत्मसम्मानको कुनै मूल्य छैन? यही परिवर्तनका लागि हामी लडेका थियौँ र यही आशामा बालेनलाई मतदान गरेका थियौँ?” भन्ने प्रश्न गरेका थिए।

महतोले अन्सारीको उक्त अभिव्यक्तिलाई आफूलाई मात्र नभई सम्पूर्ण मधेसी समुदायको आवाज भएको उल्लेख गर्दै यसलाई वर्तमान सरकार र राज्य व्यवस्थाप्रतिको गम्भीर प्रश्नका रूपमा व्याख्या गरेका छन्।

उनले पक्राउ पुर्जीबिनै, कानुनी आधार नदेखाई मध्यरातमा एक युवालाई नियन्त्रणमा लिएर कुटपिट गर्नु तथा ‘मधेसी’ भन्दै नश्लीय गालीगलौज गर्नु कानुनी शासन र मानवअधिकारका सिद्धान्तविपरीत भएको आरोप लगाए।

महतोले सत्ता परिवर्तन मात्र पर्याप्त नभई मधेसी तथा अन्य सीमान्तकृत समुदायप्रति राज्यको दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्। उनका अनुसार कुनै पनि नागरिकमाथि रंग, भूगोल वा पहिचानका आधारमा विभेद हुनु अस्वीकार्य हो।

उनले माजिद अन्सारीलाई कुन कानुनी आधारमा पक्राउ गरिएको, किन नियन्त्रणमा लिइयो र उनीमाथि कथित दुर्व्यवहार किन गरियो भन्ने विषयमा सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, अन्सारीको सुरक्षा सुनिश्चित गर्न तथा सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत महतोले यस्ता घटनाविरुद्ध मौन बस्न नसकिने उल्लेख गर्दै माजिद अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।