प्रभातफेरी अनलाइन५४ पटक पढिएको | २०८३ श्रावण ३, आईतबार
काठमाडौं, नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय भएको भन्ने विषयलाई राष्ट्रघाती कदमको संज्ञा दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारले असार ३२ गते एक रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाई अमेरिकी सहयोगमा बनेको ‘लु भ्याकुर’ गुम्बाको चित्र राख्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने सूचना सार्वजनिक भएको उल्लेख गरेका छन्।
रावलले यदि उक्त निर्णय सत्य हो भने यो नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर कदम हुने दाबी गरेका छन्। साथै, प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिपछि आएको अर्को राष्ट्रघाती निर्णयका रूपमा यसलाई लिनुपर्ने उनको भनाइ छ।
उनले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले तत्काल यथार्थ जानकारी सार्वजनिक गर्न माग गरेका छन्।