logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

विपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ र नयाँ अभियान घोषणा

प्रभातफेरी अनलाइन४८ पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
विपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ र नयाँ अभियान घोषणा

काठमाडौं, नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। यसअन्तर्गत पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले साउन ६ गते काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने जनाएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित पाँच किलोमिटर दौड आयोजना गरिने जानकारी दिए।

उनका अनुसार दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल हुनेछ। छलफलसँगै जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रण गर्ने चित्रकला कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

यस्तै, साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठीसँगै पार्टीले आफ्नो नयाँ अभियान सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

कांग्रेसले ‘ग्रिन रन’ मा सहभागी हुने व्यक्तिको सङ्ख्याका आधारमा आफ्नो कोषबाट निश्चित रकम जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा उपसभापति शर्माले पार्टीको आगामी १५औँ महाधिवेशन सबै पक्षलाई समेटेर सम्पन्न गरिने विश्वास व्यक्त गरे। साथै, प्रदेश सरकारमा सहकार्यका विषयमा छलफल भइरहेको उल्लेख गर्दै कुनै पनि संसद् प्रतिपक्षविहीन हुनु लोकतान्त्रिक अभ्यासका लागि उचित नहुने धारणा पनि राखे।