logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसद्वारा एआई र साइबर सुरक्षासम्बन्धी कार्यशाला

प्रभातफेरी अनलाइन६३ पटक पढिएको | २०८३ श्रावण ५, मंगलबार
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसद्वारा एआई र साइबर सुरक्षासम्बन्धी कार्यशाला

पोखरा, पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले ‘साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव’ विषयक विशेष कार्यशाला आयोजना गरेको छ। कार्यक्रम टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन एवं पूर्व रजिस्ट्रार अजय कुमार थापाले विश्वविद्यालयको इतिहास, मूल्य–मान्यता र राष्ट्र निर्माणमा उच्च शिक्षाको भूमिकाबारे प्रकाश पार्दै प्राविधिक परिवर्तनअनुकूल दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताए।

मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सार्वभौम एआई (Sovereign AI)’ को अवधारणाबारे प्रस्तुति दिँदै नेपालले आफ्नै एआई फ्रेमवर्क, डाटा पूर्वाधार र डिजिटल क्षमता विकासमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ फिसिङ डेमोमार्फत साइबर आक्रमण र त्यसको प्रतिरक्षाबारे जानकारी गराएका थिए। साथै विद्यार्थीहरूका लागि प्राविधिक हाजिरीजवाफ (क्विज) प्रतियोगिता पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमको सभापतित्व श्रमिक शान्ति क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले गरेका थिए। उनले विद्यार्थीहरूका लागि मेन्टरसिप, इन्टर्नसिप र उन्नत तालिम विस्तार गर्न टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडसँग औपचारिक साझेदारी (एमओयू) गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष हरिकृष्ण बञ्जाङ्करको पनि उपस्थिति रहेको थियो।