logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

काठमाडौंमा कपडा व्यवसायी नवीन अग्रवालको मृत्यु, घटनाबारे अनुसन्धान जारी

प्रभातफेरी अनलाइन१२ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौंमा कपडा व्यवसायी नवीन अग्रवालको मृत्यु, घटनाबारे अनुसन्धान जारी

काठमाडौं, काठमाडौंका कपडा व्यवसायी नवीन अग्रवालको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कुमारीगालमा बस्दै आएका अग्रवाल सोमबार साँझ काठमाडौं महानगरपालिका–७ बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोर पछाडि रहेको आफ्नै घरको चौथो तलाको बार्दलीबाट खसेका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि स्तूपा अस्पताल, बौद्ध लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा रहेको उनको कोठाबाट विष फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा विष सेवन गरेपछि माथिबाट खसेको हुन सक्ने आशंका गरिएको भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अग्रवाल भारतबाट कपडा आयात गरी काठमाडौंमा थोक व्यापार गर्दै आएका थिए। उनको व्यवसाय बौद्ध क्षेत्रमा सञ्चालनमा थियो। पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण उनी आर्थिक तनावमा थिए। साथै, उनी उच्च रक्तचाप, मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि औषधि सेवन गर्दै आएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।