logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

मधेस सरकारले सामाजिक सद्भाव कायम राख्न प्रदेशवासीलाई अपिल

प्रभातफेरी अनलाइन४२ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
मधेस सरकारले सामाजिक सद्भाव कायम राख्न प्रदेशवासीलाई अपिल

जनकपुरधाम / मधेस प्रदेश सरकारले पछिल्लो समय केही स्थानमा देखिएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेशवासीलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न अपिल गरेको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जारी गरेको अपिलमा कुनै पनि घटना वा विवादलाई धार्मिक वा साम्प्रदायिक रङ दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह नगर्न सबै नागरिकलाई आग्रह गरिएको छ।

प्रदेश सरकारले शान्ति, सुरक्षा र कानुनको शासन कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गर्दै हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने तथा साम्प्रदायिक द्वेष भड्काउने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

अपिलमा धार्मिक अगुवा, बुद्धिजीवी, जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम र राजनीतिक दललाई संयमित तथा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै शान्ति, सद्भाव र सहअस्तित्व नै मधेस प्रदेशको समृद्धिको आधार भएको उल्लेख गरिएको छ।