logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

डिजिटल हिंसा नियन्त्रणका लागि कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी

प्रभातफेरी अनलाइन४७ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
डिजिटल हिंसा नियन्त्रणका लागि कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी

काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बढ्दो साइबर अपराध र डिजिटल हिंसा नियन्त्रणका लागि कानुनी, संस्थागत तथा प्राविधिक सुधार अपरिहार्य रहेको बताएकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आयोजित साइबर सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध सामाजिक तथा मानवअधिकारको गम्भीर चुनौती बनेको उल्लेख गरिन्।

मन्त्री वादीले साइबर बुलिङ, चरित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरुपयोग, डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्टकिङ तथा डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको बताउँदै यस्ता अपराधबाट विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय बढी प्रभावित भएको बताइन्।

उनले कृत्रिम बुद्धिमत्ता (एआई), डिपफेक र सीमापार सञ्चालित डिजिटल प्लेटफर्मका कारण अनुसन्धान थप जटिल बन्दै गएको उल्लेख गर्दै समयअनुकूल कानुनी व्यवस्था, अनुसन्धान प्रणाली, संस्थागत क्षमता र अन्तरनिकाय समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइन्।