प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
बाजुरा / बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक सञ्चार उपकरण तथा अन्य सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार ढुवानी गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएपछि उपकरण जडानको प्रक्रिया अघि बढाइएको हो। भौगोलिक कठिनाइका कारण सडकमार्फत सामग्री पुर्याउन सम्भव नभएपछि हेलिकप्टरबाट ढुवानी गरिएको हो।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो। सामग्री तथा जनशक्ति व्यवस्थापनका साथै स्थानीय तहबाट आवश्यक सहयोगका विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको उनले बताए।
नेपाल टेलिकमका अनुसार जडानस्थलमा आवश्यक सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिनेछ। यसअघि साउन ३० गतेभित्रै सेवा सञ्चालन गर्ने लक्ष्य राखिए पनि मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको छ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने सरकारको योजना छ। साथै, सगरमाथा आधार शिविरमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ।
यसअघि डोल्पाको लहान, दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ। देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ भने नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।