प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगम लिमिटेडले जारी गरेको ग्यास सिलिन्डर सम्बन्धी सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यास मौज्दातलाई कालोबजारी वा अनावश्यक सञ्चितिसँग जोडेर हेर्न नहुने जनाएको हो।
महासंघका अध्यक्ष टिआर भण्डारी (शंकर)ले शुक्रबार विज्ञप्ति जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गर्न आग्रह गरेका छन्।
नेपाल आयल निगमले बिहीबार जारी गरेको ‘अत्यन्त जरुरी सूचना’मा बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको भन्दै त्यस्तो मौज्दात नराख्न आग्रह गरेको थियो। साथै, मौज्दात रहेको ग्यास सिलिन्डर सम्बन्धित डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्न निगमले अपिल गरेको थियो।
महासंघका अध्यक्ष भण्डारीले व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यास मौज्दातलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोड्नु स्वीकार्य नभएको बताएका छन्।
महासंघ कालोबजारी, कृत्रिम अभाव वा गैरकानुनी गतिविधिको पक्षमा नरहेको स्पष्ट पार्दै उनले कानूनविपरीत कार्य गर्ने जोसुकैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने बताए। तर, केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने र व्यवसायीलाई आतंकित बनाउने वातावरण सिर्जना गर्ने कार्यप्रति महासंघको कडा असहमति रहेको विज्ञप्तिमा उल्लेख छ।
महासंघका महासचिव राजेश महोत्राले व्यवसायीको हकहित, सम्मान र व्यवसायको अस्तित्व संरक्षणका लागि आवश्यक परे शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
महासंघले व्यावसायिक क्षेत्रको वास्तविक आवश्यकता र दैनिक खपतलाई आधार बनाएर ग्यास व्यवस्थापनसम्बन्धी नीति तथा अनुगमन गर्नुपर्ने माग गरेको छ।