प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
जाजरकोट / अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
पहिरोमा परी घाइते भएका साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। बेपत्ता चार जनामध्ये ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्।
पहिरोमा परी सात जना घाइते भएका छन्। घाइतेमध्ये ६२ वर्षीय रामबहादुर शाही र ६१ वर्षीया भद्रकला कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोका कारण आठ घरमा क्षति पुगेको छ।