logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

मिडिया क्षेत्रमा संकटको असर : घट्दै छन् पत्रकारिताका विद्यार्थी

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
मिडिया क्षेत्रमा संकटको असर : घट्दै छन् पत्रकारिताका विद्यार्थी

मिडिया क्षेत्रमा घट्दो अवसर, कम पारिश्रमिक र रोजगारीको असुरक्षा र विदेश अध्ययनको बढ्दो मोहले पत्रकारिता पढ्ने विद्यार्थीको संख्या निरन्तर ओरालो लागेको छ ।

नेपालमा पत्रकारिता तथा आमसञ्चार पढ्ने विद्यार्थीको संख्या तीव्र रूपमा घट्दै गएको छ;

‘प्लस टु’ तहमा अध्यापन गराउने विद्यालय २०७९ को २०९ बाट २०८३ मा १०५ र विद्यार्थी संख्या ४ हजार ३ सय ३ बाट १ हजार ३ सय ३ मा झरेको छ।
कम तलब, अस्थिर रोजगारी, व्यावसायिक असुरक्षा, विदेश अध्ययनको बढ्दो मोह र सामाजिक सञ्जालको प्रभावले पत्रकारिता नयाँ पुस्ताका लागि आकर्षक बन्न सकेको छैन।
विशेषज्ञहरूले पत्रकारिता शिक्षालाई समयानुकूल र बजारमुखी बनाउँदै आधुनिक प्रविधि, नियमित इन्टर्नसिप र व्यावहारिक समाचार कक्ष अभ्यासमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ — पत्रकारिता विषय पढ्ने विद्यार्थीका लागि भक्तपुरस्थित जनप्रेमी वर्ल्ड स्कुल एक समय निकै आकर्षक गन्तव्य मानिन्थ्यो । २०६६ सालदेखि सुरु भएको यस कलेजको ‘प्लस टु’ पत्रकारिता कार्यक्रमले राजधानी मात्र होइन, देशका विभिन्न जिल्लाबाट विद्यार्थी तानेको थियो ।

कलेजको अभिलेख पल्टाएर हेर्ने हो भने ५७ जिल्लाका विद्यार्थीले यहाँ आएर पत्रकारिताको अध्ययन गरेका छन् । बागमती प्रदेशका विकट पहाडी जिल्लादेखि सुदूरपश्चिमका गाउँबाट आएका विद्यार्थी एउटै कक्षामा बसेर समाचारको लेखनशैली सिक्थे ।

त्यो समय यस्तो थियो, जहाँ एउटै ब्याचमा ७६ जनासम्म विद्यार्थी भर्ना हुन्थे । यसरी अध्ययन गरेका कलेजका कैयौं पूर्वविद्यार्थी अहिले मूलधारका विभिन्न सञ्चारमाध्यममा सक्रिय छन् । नेपाली पत्रकारिता क्षेत्रमा स्थापित भएका केही चिरपरिचित अनुहारले पनि यही कलेजको कक्षाकोठाबाट आफ्नो व्यावसायिक यात्राको सुरुवात गरेका थिए ।
अहिले दृश्य फेरिएको छ ।

कुनै बेला विद्यार्थीको ‘कल्याङमल्याङ’ र प्रश्नोत्तरले गुञ्जायमान हुने पत्रकारिताका कक्षाहरू सुनसान छन् । अवस्था यतिसम्म दयनीय छ कि पछिल्ला चार वर्षदेखि जनप्रेमीमा पत्रकारिता विषय पढ्न नयाँ विद्यार्थी भर्ना नै भएका छैनन् । यसको एउटै मुख्य कारण हो, पत्रकारिता पढ्ने विद्यार्थीको अभाव ।

समाचार उपभोगको बदलिँदो स्वभाव

‘पछिल्लो पटक हामीले १९ जना मात्र विद्यार्थी भए पनि कार्यक्रम सञ्चालन गरेका थियौं,’ कलेजका प्रशासन प्रिन्सिपल निलेश आचार्यले भने, ‘तर, लगातार विद्यार्थी नआएपछि विभाग बन्द गर्नुको विकल्प बाँकी रहेन ।’

श्रमको उचित मूल्यांकन नहुनु, कम तलब, अस्थिर रोजगारी र व्यावसायिक सुरक्षाको चरम अभावले गर्दा पत्रकारिता नयाँ र ऊर्जाशील पुस्ताका लागि आकर्षक पेसा बन्न नसकेको विषय शिक्षकहरूको तर्क छ ।
उनका अनुसार अहिले पनि ‘प्लस टु’मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा अध्ययन गर्ने विद्यार्थीको चाप उल्लेख्य छ । तर, जुन विषयले कलेजलाई विगतमा अलग पहिचान दिएको थियो, त्यही पत्रकारिता विभाग भने अहिले पूर्ण रूपमा बन्द अवस्थामा छ ।

जनप्रेमी कलेजले भोगेको यो नियति एउटा शैक्षिक संस्थाको मात्रै समस्या होइन । समग्र नेपाली पत्रकारिता शिक्षाले भोगिरहेको यथार्थ हो, जसलाई राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को पछिल्लो पाँच वर्षको तथ्यांकले पुष्टि गर्छ ।

श्रमको उचित मूल्यांकन नहुनु, कम तलब, अस्थिर रोजगारी र व्यावसायिक सुरक्षाको चरम अभावले गर्दा पत्रकारिता नयाँ र ऊर्जाशील पुस्ताका लागि आकर्षक पेसा बन्न नसकेको विषय शिक्षकहरूको तर्क छ।

बोर्डबाट कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार, शैक्षिक सत्र २०७९ मा देशभरका २०९ वटा ‘प्लस टु’ अध्ययन गराइने विद्यालयले पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन गराएका थिए । तर, शैक्षिक सत्र २०८३ सम्म आइपुग्दा यो संख्या आधाआधीले घटेको छ । शैक्षिक सत्र २०८३ को तथ्यांक हेर्दा अहिले देशभर जम्मा १०५ विद्यालयमा मात्रै पत्रकारिता अध्ययन भइरहेको छ ।

कक्षा ११ र १२ मा मात्रै पत्रकारिता अध्ययन गराउने विद्यालयको संख्या घटेको होइन, भर्ना हुने विद्यार्थीको संख्या पनि ओरालो लागेको छ । बोर्डको तथ्यांकअनुसार शैक्षिक सत्र २०७९ मा ४ हजार ३ सय ३ विद्यार्थीले पत्रकारिता विषयमा भर्ना गरेका थिए भने, चालु शैक्षिक सत्रमा जम्मा १ हजार ३ सय ३ जनाले मात्रै यो विषय रोजेका छन् ।

‘प्लस टु’मा मात्रै विद्यार्थी घटेका होइनन् । स्नातक तहमा पनि पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर खुम्चिँदै गएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार २०७७ सालमा पत्रकारिता तथा आमसञ्चार विषयमा २ हजार ७ सय ६० विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए । २०८१ सालसम्म आइपुग्दा यो संख्या आधाभन्दा बढीले घटेर १ हजार १ सय ३२ मा सीमित हुन पुगेको छ ।

विद्यार्थीको संख्यामा आएको यो गिरावटसँगै पत्रकारिता तथा आमसञ्चारको पढाइ हुने क्याम्पसहरूको संख्या पनि अस्वाभाविक रूपले घटेको छ ।

किन बढ्यो पाठकसँग मिडियाको दूरी ?

२०७७ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशभरका ७४ वटा क्याम्पसमा पत्रकारिता तथा आमसञ्चारको पढाइ हुन्थ्यो । २०८० सालमा यस्तो क्याम्पसको संख्या ६१ मा झरेको थियो भने २०८१ सम्म आइपुग्दा ५७ वटा क्याम्पसमा मात्रै यो विषय खुम्चिन पुगेको छ ।

यसबीचको तथ्यांक हेर्ने हो भने २०७८ मा ७२ र २०७९ मा ६९ क्याम्पसमा पत्रकारिता पढाइ हुन्थ्यो । २०७८ मा ३ हजार ९७ विद्यार्थी भर्ना भए पनि त्यसपछि यो क्रम लगातार ओरालो लाग्यो । २०७९ मा २ हजार ५९, २०८० मा १ हजार २ सय ७७ हुँदै २०८१ मा आइपुग्दा विद्यार्थी भर्ना संख्या १ हजार १ सय ३२ मा झरेको देखिन्छ ।

उता, पूर्वाञ्चल विश्वविद्यालयको पछिल्लो ५ वर्षको विद्यार्थी भर्ना दरको अवस्था पनि उस्तै निराशाजनक छ । तथ्यांकअनुसार २०७८ सालमा १२२ जना भर्ना भएका थिए भने २०८२ सालमा आइपुग्दा त्यो संख्या घटेर जम्मा ७४ जनामा सीमित भएको छ ।

विद्यार्थीको संख्या यसरी घटेको तितो अनुभव विद्यालय तथा क्याम्पसका सञ्चालक एवं विषय शिक्षकहरूसँग प्रशस्तै छ । काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका आमसञ्चार तथा पत्रकारिता विभागीय प्रमुख चुनबहादुर गुरुङ पत्रकारिताका विद्यार्थी निरन्तर घटेको तथ्य सहजै स्वीकार्छन्, ‘हामीले ३४ जनासम्म पढाएका छौं, अहिले त्यो संख्या औसत १४/१५ मा खुम्चिएको छ ।’

यसरी पत्रकारिता पढ्ने विद्यार्थीको संख्यामा गिरावट आउनुमा प्रमुख कारणमध्ये एक वैदेशिक अध्ययनप्रतिको बढ्दो मोह पनि हुन सक्ने शिक्षकहरूको तर्क छ । जनप्रेमी कलेजका प्रिन्सिपल निलेश आचार्यका अनुसार पछिल्ला वर्ष कक्षा १२ को अध्ययन पूरा गर्नेबित्तिकै अधिकांश नेपाली विद्यार्थीको पहिलो र एक मात्र प्राथमिकता विदेश अध्ययन बन्ने गरेको छ । ‘अहिले कलेजमा परामर्श लिन आउने धेरै विद्यार्थीको प्रश्न विदेश जानका लागि कुन विषय उपयुक्त हुन्छ भन्ने हुन्छ,’ उनी भन्छन्, ‘हजार जनामध्ये मुस्किलले एक जनाले मात्र पत्रकारिता विषयबारे चासो देखाउँछ ।’‍

पत्रकारितामा एआई : नैतिक प्रयोगको रूपरेखा

श्रमको उचित मूल्यांकन नहुनु, कम तलब, अस्थिर रोजगारी र व्यावसायिक सुरक्षाको चरम अभावले गर्दा पत्रकारिता नयाँ र ऊर्जाशील पुस्ताका लागि आकर्षक पेसा बन्न नसकेको विषय शिक्षकहरूको तर्क छ ।

त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक ऋषिकेश दाहाल यसमा व्यावसायिक असुरक्षाको गहिरो प्रभाव परेको बताउँछन् । ‘६० को दशकमा नेपाली पत्रकारितामा धेरै सञ्चारमाध्यमको उदय भयो, छापा, प्रसारण सबैखाले केही समयमै ह्वात्तै आए । बजारमा पत्रकारको माग बढ्यो, धेरै विद्यालयले पनि पत्रकारिता पढाउन थाले,’ उनी भन्छन्, ‘अहिले पत्रकारिता पेसा नै समस्याग्रस्त अवस्थामा छ । मिडियाहरू घट्दै गए, पहिलेजस्तो प्रतिस्पर्धा रहेन । यस्तो अनिश्चित पेसाप्रति विकर्षण हुनु स्वाभाविक हो ।’

अहिले मिडियाको व्यवसाय मात्र खुम्चिएको होइन, सञ्चारमाध्यमप्रतिको जनविश्वास पनि गम्भीर समस्यामा परेको उपप्राध्यापक दाहाललाई लाग्छ । ‘०७२ को भूकम्पले मिडिया क्षेत्रलाई संकेत दिएको थियो तर हामीले पूर्वतयारी गर्न सकेनौं, कोभिडले धेरै नै प्रभाव पारिरहेको छ,’ उनले भने, ‘अहिले सोसल मिडिया इन्फ्लुएन्सरहरूको पकड छ । यस्तो समयमा विद्यार्थी घट्नु नौलो विषय भने होइन । मलाई घटेको भन्दा पनि त्योबीचको समयमा मिडिया सुन्निएको समय थियो जस्तो लाग्छ ।’

कलेज प्रशासन र शिक्षकहरूको अनुभवमा विद्यालय तहमा औसत नतिजा ल्याएका विद्यार्थीहरूले पनि फिल्ड रिपोर्टिङ, समाचार लेखन, प्रस्तुति र सञ्चार सीपमा उत्कृष्ट प्रदर्शन गरेर स्थापित भएका उदाहरण प्रशस्तै छन् । तर, पछिल्लो समय लागू भएको लेटर ग्रेडिङ प्रणालीले अधिकांश विषयमा विद्यार्थीलाई भर्नाको समान अवसर र विकल्प दिएपछि उनीहरूको छनोट व्यवस्थापन, सूचना प्रविधि (आईटी), स्वास्थ्य र अन्य प्राविधिक विषयतर्फ बढी केन्द्रित हुन थालेको विषय शिक्षकको भनाइ छ ।

पत्रकारिताका संस्थाहरू नै विकास हुन नसक्दा यस विषयप्रतिको आकर्षण घट्दै गएको बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले बताए । ‘आर्थिक रूपमा सञ्चारसंस्थाहरूले सही तरिकाले काम गर्न नसकेको हुनाले समयमा तलब दिन सकेनन्,’ उनले कान्तिपुरसँग भने, ‘यस्तो कारणले पत्रकारिता पढ्नु हुँदैन रहेछ भन्ने सोच बढेर गयो ।’

सिद्धान्त र मूल्य मान्यता नबुझेका व्यक्तिले जे मन लाग्यो त्यही गर्ने र तिनै व्यक्ति चर्चित हुँदै जाने कारणले पनि पत्रकारिता अध्ययनप्रति आकर्षण घटेको हुन सक्ने उनको तर्क छ । उनी भन्छन्, ‘त्यसले गर्दा पत्रकारिता पढ्नुपर्छ वा पत्रकारिता जीवन्त राख्नुपर्छ भन्ने कतैबाट आएन ।’

‘गलत सूचना’ र ‘भ्रामक सामग्री’ को बाढी

नेपालमा पत्रकारिता इतिहास सय वर्षभन्दा पुरानो छ । १९५५ सालमा ‘सुधासागर’ साहित्यिक पत्रिका र १९५८ मा ‘गोरखापत्र’ को प्रकाशनसँगै नेपाली पत्रकारिताको संस्थागत विकास सुरु भएको मानिन्छ । तर, पत्रकारिताको औपचारिक र प्राज्ञिक अध्ययन भने निकैपछि मात्र सुरु भएको हो ।

अहिले विभिन्न विश्वविद्यालयले आ-आफ्नै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमार्फत पत्रकारिता र आमसञ्चारका थुप्रै कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, संख्यात्मक विस्तारसँगै गुणस्तर कायम राख्ने र विद्यार्थी संख्या बढाउने विषय दुवै ठूलो चुनौती बनेर उभिएका छन् ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन (सीजेएमसी) का सञ्चालक दीपेश आचार्यका अनुसार बीचमै पढाइ छाडेर विद्यार्थीहरू विदेश जानु, अन्य प्राविधिक वा व्यावसायिक क्षेत्रमा अवसर खोज्दै हिँड्नु र समग्र पत्रकारिता क्षेत्रमा आफ्नो भविष्यप्रतिको अन्योलले यस्तो गम्भीर अवस्था सिर्जना गरेको हो । ‘सूचनाको पहुँच अहिले धेरै विस्तार भएको । त्यससँगै भ्रामक सूचना र क्लिकबेट सामग्री पनि बढेका छन् । यस्तो अवस्थामा व्यावसायिक पत्रकारिताको भूमिका झनै महत्त्वपूर्ण छ,’ आचार्य भन्छन्, ‘तर त्यसका लागि यो क्षेत्रमा आउने नयाँ पुस्तालाई टिकाउने वातावरण बनाउनुपर्छ ।’

सीजेएमसीका संस्थापक प्रिन्सिपल मञ्जु मिश्रका अनुसार अहिले सामाजिक सञ्जाल र प्रविधिले सूचना उत्पादन र वितरणको सम्पूर्ण स्वरूप नै परिवर्तन गरिसकेको छ । तर, हाम्रा विश्वविद्यालय र पत्रकारिता शिक्षाले त्यसको गतिअनुसार आफूलाई बदल्न र अद्यावधिक गर्न सकेका छैनन् । कक्षाकोठाको सिद्धान्त र वास्तविक समाचार कक्ष (न्युजरुम) बीचको फराकिलो दूरी नेपालको पत्रकारिता शिक्षाको अर्को प्रमुख र गम्भीर चुनौती भएको मिश्रको भनाइ छ । नियमित इन्टर्नसिप, समाचार कक्षमै गएर गरिने अभ्यास र आधुनिक सञ्चार उपकरणमा पहुँचबिना पत्रकारिता शिक्षालाई समयानुकूल र बजारमुखी बनाउन कठिन हुने उनको भनाइ छ ।

सेन्ट जेभियर्स कलेजका पत्रकारिता विभाग प्रमुख चुनबहादुर गुरुङ पनि समयको मागअनुसार पाठ्यक्रममा आमूल सुधार गर्नुपर्ने तर्कमा सहमत छन् । ‘हामीले पढाइरहेको पाठ्यक्रम कस्तो छ ? समय सुहाउँदो कोर्स छ कि पुरानै पाठ्यक्रम पछ्याइरहेका छौं ? समयानुकूल र बजारमुखी पाठ्यक्रम अनिवार्य छ,’ उनले कान्तिपुरसँग भने, ‘विगत ६ वर्षको अनुभवमा मेरा अधिकांश विद्यार्थी पत्रकारिताभन्दा पनि कन्टेन्ट क्रिएसनप्रति रुचि राख्छन् ।’

आलोचनामुक्त रहन सक्छ पत्रकारिता ?

गुरुङलाई लाग्छ, पत्रकारिता एउटा शैक्षिक वा प्राज्ञिक विषय मात्र होइन, यो लोकतान्त्रिक समाजमा नागरिकको सूचनाको हक, उत्तरदायित्व र सार्वजनिक बहसलाई जीवित राख्ने दक्ष जनशक्ति उत्पादन गर्ने महत्त्वपूर्ण माध्यम पनि हो । ‘विश्वभर प्रजातन्त्र जोखिममा रहेका बेला पत्रकारिता मर्नुहुँदैन, मरेको पनि छैन, बरु म सरेको छ भन्छु,’ उनी भन्छन्, ‘त्यसैले समय सुहाउँदो, बजारले मागेको मल्टिडिस्प्लिनरी एप्रोच अपनाएर जानुपर्छ ।’

बाह्रखरीका प्रधानसम्पादक प्रधान समाजमा इमानदार पत्रकारिता चाहिन्छ भन्ने कुरा समाजले रियलाइज गर्न समय लाग्ने बताए । ‘पत्रकारिता कमजोर हुनु भनेको समाजको लागि घातक कुरा हो,’ प्रधान भन्छन्, यसलाई लयमा ल्याउन पत्रकारहरू आफैले काम गर्नुपर्छ ।’

 

रामहरि कार्की
बिष्लेश्क