प्रभातफेरी अनलाइन७ पटक पढिएको | २८ मिनेट अघि
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ।
‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण तथा नेतृत्व क्षमता विकासबारे छलफल भइरहेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।
पहिलो दिन अनिल चित्रकारले ‘नेपालको चित्र, हामी कहाँ छौँ?’ शीर्षकमा देशको वर्तमान अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिने कार्यक्रम छ।
कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, सुदृढीकरण र केन्द्रीय सदस्यको भूमिकाबारे प्रस्तुति दिनेछन्। संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया कसरी प्रयोग गर्ने?’ विषयमा धारणा राख्नेछन्।
त्यस्तै महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया र उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या तथा समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।