logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिए: महासचिव पोखरेल

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिए: महासचिव पोखरेल

काठमाडौं / नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालका लोकतान्त्रिक दलहरूले अर्थ–राजनीतिक विषयमा पर्याप्त ध्यान दिन नसकेको गुनासो गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो र दिगो हुन नसक्ने बताउनुभएको हो। राज्यव्यवस्थाको आधार नै अर्थतन्त्र भएकाले समाजवाद उन्मुख लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।

उहाँले पूर्वाधार तथा सूचना प्रविधिको विकाससँगै बढेको जीवनस्तर र उपभोगको चाहनालाई नेपालको आर्थिक विकासले पछ्याउन नसकेको उल्लेख गर्नुभएको छ। आर्थिक अभावकै कारण भ्रष्टाचार, अपराध, कालोबजारी र तस्करी मौलाएको तथा दलाल नोकरशाही पूँजीवादले अवसर पाएको उहाँले दाबी गर्नुभएको छ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले पैतृक सम्पत्तिको क्षयसँगै युवाको विदेश पलायनसमेत बढेको भन्दै पोखरेलले अब ‘स्वाधीन र सबल अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार आर्थिक आधार कमजोर रहेसम्म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबल र दिगो बन्न सक्दैन।