प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
काठमाडौं / नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । शाखाले निर्णय नसच्याए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।
शाखाका सचिव रमेशकुमार बोहोराले भदौ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाइएको हो । शाखाका अनुसार यस्तो निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप आर्थिक संकटमा पार्नेछ ।
सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर हुँदा सञ्चार संस्था बन्द हुने, पत्रकारले रोजगारी गुमाउने र नागरिकको सूचनाको अधिकारसमेत प्रभावित हुन सक्ने शाखाको भनाइ छ । लोकतन्त्रको चौथो अंगका रूपमा सरकारका नीति तथा गतिविधिमाथि खबरदारी गर्दै आएका सञ्चारमाध्यमलाई संरक्षण गर्नुपर्ने समयमा आर्थिक रूपमा कमजोर बनाउने निर्णयले सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाएको शाखाले जनाएको छ ।
महासंघले लोककल्याणकारी विज्ञापनलाई कुनै सरकार, मन्त्री वा राजनीतिक दलको कृपाका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ । नागरिकसम्म सार्वजनिक सूचना पुर्याउने सञ्चारमाध्यमको भूमिकालाई राज्यले संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने भन्दै सरकारी विज्ञापन वितरणमा पारदर्शी, समानुपातिक र न्यायपूर्ण प्रणाली सुनिश्चित गर्न माग गरिएको छ ।
सरकारी निर्णयमाथि आलोचनात्मक प्रश्न उठाउने सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर पार्ने वा सरकारी विज्ञापनलाई नियन्त्रणको माध्यम बनाउने प्रवृत्ति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेप हुने शाखाको ठहर छ ।
शाखाले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय पुनरावलोकन गर्न, साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षणका लागि प्रभावकारी नीति ल्याउन र सञ्चारमाध्यममाथिको आर्थिक हस्तक्षेप रोक्न सरकारसँग माग गरेको छ ।
सरकारले तत्काल निर्णय फिर्ता नलिए देशभरका पत्रकार, सम्पादक, प्रकाशक, सञ्चारमाध्यम तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संघ–संस्थासँग सहकार्य गरी चरणबद्ध तथा सशक्त आन्दोलन सञ्चालन गर्ने चेतावनी शाखाले दिएको छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
