प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
रसुवा / भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० जना प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको छ। सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा करिब १५ मिटर तल ओर्लिएर टोलीले खोजी गरिरहेको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ को सुरुङमा पनि विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।
रसुवागढी हाइड्रोपावरको सुरुङमा सुरक्षाकर्मीको संयुक्त टोली करिब २५० मिटर भित्रसम्म पुगेर खोजी गरेको थियो। तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको श्रीनाथ गणले जनाएको छ। सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहत वितरण गरिरहेको छ।