प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्षको परम्परागत विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकता र मानवीयताको आधारमा जलवायु न्यायका लागि विश्व समुदायसमक्ष एकजुट हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै लामिछानेले भोटेकोशी विपत्तिका बेला सबै पक्ष एक ठाउँमा उभिएको उल्लेख गर्दै देशले विवेक र मानवीयताको उज्यालोबाट पुनः आफ्नो भविष्य खोज्ने विश्वास व्यक्त गरे।
उनले सरकार उद्धार तथा खोजी कार्यमा दिनरात नभनी खटिरहेको बताए। प्रियजन गुमाएका पीडितले राज्यले केही गरेन भन्दै आक्रोश व्यक्त गर्नु स्वाभाविक भएको भन्दै त्यस्ता अभिव्यक्तिलाई अन्यथा नलिन आग्रह गरे।
पीडामा रहेका नागरिकमाथि सामाजिक सञ्जालमा अवाञ्छित टिप्पणी गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो। रास्वपाका कुनै कार्यकर्ता त्यस्तो गतिविधिमा संलग्न भए कारबाही गरिने र सरकारले पनि कानुनअनुसार कारबाही अघि बढाउनुपर्ने उनले बताए।
लामिछानेले विपद् व्यवस्थापनमा प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई सरकारले ग्रहण गर्नुपर्ने भन्दै विपद्लाई राजनीतिकरण नगर्न सबै पक्षलाई आग्रह गरे।
जलवायु सङ्कटका कारण प्रभावित नागरिक जलवायु अन्यायका पीडित भएको उल्लेख गर्दै उनले यसका लागि विश्व समुदायसँग न्याय माग्न नेपाल एकजुट भएर अघि बढ्नुपर्ने बताए। साथै, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ताको प्रशंसा गर्दै मित्रराष्ट्र, निजी क्षेत्र, सञ्चारमाध्यम र गैरआवासीय नेपाली समुदायले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे।