प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै उनले सरकार तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापना र पुनर्निर्माणमा परिचालन गरिने बताए।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा सडक तथा पुलको सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकार निरन्तर लागिरहेको उल्लेख गर्दै सडक सञ्चालनमा आएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्किन सहज हुने विश्वास व्यक्त गरे।
नदी तटीय क्षेत्रमा रहेका बस्ती भविष्यमा पुनः जोखिममा पर्न सक्ने भन्दै उनले त्यस्ता स्थानमा पुनः बस्ती बसाल्न सम्भव नहुने बताए। सुरक्षित स्थान पहिचान गरी रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यानमा राखेर नयाँ तथा व्यवस्थित बस्ती विकास गर्नुपर्ने उनको भनाइ छ।
उनले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रहसमेत गरेका छन्।