logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

मुम्बईको मजदुर बस्तीबाट संसद्को रोस्टमसम्म: रेणु चन्दको संघर्षपूर्ण राजनीतिक यात्रा

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
मुम्बईको मजदुर बस्तीबाट संसद्को रोस्टमसम्म: रेणु चन्दको संघर्षपूर्ण राजनीतिक यात्रा

काठमाडौं / खरो टिप्पणी गर्ने कुनै सांसदको नाम लिनु पर्दा अहिले रेणु चन्दको नाम उचारण नलिने बिरलै भेटिन्छन् ।

संसद्को रोस्टममा उभिएर जब उहाँ खरो शैलीमा सरकार र नयाँ-पुराना राजनीतिक दलहरूमाथि प्रश्नको वर्षा गर्नुहुन्छ , धेरैलाई लाग्न सक्छ, यी कुनै स्थापित राजनीतिक घरानाबाट उदाएको नेता हुन्। तर, नेकपा नेतृ तथा राष्ट्रिय सभा सदस्य रेणु चन्दको जीवनकथा कुनै सिनेमाको पटकथाभन्दा कम रोमाञ्चक छैन। मुम्बईको मजदुर बस्तीको हिन्दी भाषी परिवेशबाट सुरु भएको उहाँको यात्रा आज नेपालको संसद्‌सम्म आइपुग्दा अनगिन्ती उतारचढाव र अद्भूत मोडहरूबाट गुज्रिएको छ।

रेणुको जन्म र प्रारम्भिक बाल्यकाल भारतको मुम्बईस्थित औद्योगिक मजदुर बस्तीमा बित्यो। घरमा नेपाली होइन, हिन्दी भाषा बोलिन्थ्यो। परिवारको आर्थिक अवस्था कमजोर थियो भने बुवा गोपाल चन्द अत्यधिक म’द्यपान र घरेलु झै’झ’गडामा फसेका थिए।

तर, एक दिन उहाँका बुवाको जीवनमा अनौठो परिवर्तन आयो। मजदुर आन्दोलन र वामपन्थी विचारको सम्पर्कमा पुगेपछि उहाँका बुवाले म’दि’रा त्यागे र हातमा पुस्तकहरू समात्न थाले। लेनिनका सिद्धान्त र म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ पढेपछि बुवाको सोच मात्र बदलिएन, उहाँले आफ्ना सन्तानलाई पनि त्यही बाटोमा डोर्‍याए। तिनै बदलिएका बुवाको प्रेरणाले रेणुलाई पनि क्रान्तिको चेत दियो र २०५० को दशकको अन्त्यतिर उहाँ आफ्ना पिताको पछि लाग्दै ज’नयु’द्धमा होमिन नेपाल पस्नु भयो ।

मुम्बईको समथर सहरबाट अचानक सुदूरपश्चिमका विकट पहाडहरूमा पुग्दा रेणुका लागि नेपाल एउटा पूर्णतया नयाँ संसार थियो। उहाँलाई न पहाडको भूगोल थाहा थियो, न त स्थानीय डोटेली भाषा नै बोल्न आउँथ्यो।

पहिलो पटक बैतडीका अग्ला डाँडा र सिँढीदार खेतहरू देख्दा उहाँले आश्चर्य मान्दै बुवालाई सोधनु भएको थियो : “बुवा, यो पहाडमा यति धेरै भर्‍याङहरू किन बनाएको होला?”
बुवाले हाँस्दै सम्झाएका थिए, “यो भर्‍याङ होइन नानी, यहाँका मान्छेले खेती गर्ने खेत हो।”

हिन्दी मातृभाषाजस्तै बन्नुभएकी रेणुले स्थानीय कार्यकर्ता र जनतासँग घुलमिल हुन डोटेली भाषा सिकिन्। पछि उहाँ सुदूरपश्चिमका विभिन्न जिल्लाका फरक-फरक लवजमा धाराप्रवाह भाषण गर्न सक्ने हुनुभयो ।

ज’नयु’द्धका क्रममा रातको समयमा हिँड्नु नियमित प्रक्रिया थियो। तर, रेणुलाई रातमा आँखा कम देख्ने (कमजोर दृष्टि) समस्या थियो। छिटो हिँड्न नसक्ने र भीरबाट लड्ने जोखिम भएपछि युद्धका सहयोद्धा कमरेडहरूले अनौठो उपाय निकाले।

उहाँका लागि एउटा हातको नाडीमा गम्छा बाँधिन्थ्यो र त्यो गम्छाको अर्को छेउ अगाडि हिँड्ने कमान्डर साथीको नाडीमा बाँधिन्थ्यो। एक रात हिँड्दा-हिँड्दै अगाडिका साथी भीरको छेउमा निदाएर टक्क अडिए। रेणु पनि रोकिएर बसिन्। पछि अरू साथीहरूले देखेपछि उनीहरूलाई ठूलो दुर्घटनाबाट बचाए।

यु’द्धको त्यो कठोर समयमा जनताको घरमा गएर “मलाई खाना दिनुस्” भन्न नसकेर ढोकामा टोलाएर उभिएका पलहरू आज पनि उहाका आँखामा ताजै छन्। उहाँ भन्नुहुन्छ: “त्यो दिन गाउँले बुवाले खाना नदिएको भए मेरो साहस त्यहीँ टुट्ने थियो। यो आन्दोलन दलले होइन, जनताले आफ्नो छाक काटेर र राज्यको लाठी सहेर टिकाएका हुन्।”

शान्ति प्रक्रियापछि २०६४ सालको पहिलो संविधान सभा चुनाव आयो। बैतडीबाट उहाँका बुवा ‘चन्दन सर’ चुनाव लड्ने चर्चा थियो। तर अन्तिम समयमा थाहा भयो,मतदाता नामावलीमा बुवाको नाम नै छुटेको रहेछ!

उम्मेदवार मनोनयनको समय घर्कँदै थियो। निर्वाचन कार्यालयबाट दबाब आएपछि पार्टीले तत्काल निर्णय गर्‍यो, “बुवाको नाम छैन भने के भयो त, छोरीको नाम छ, छोरी नै चुनाव लड्छिन्!” यसरी ब’न्दु’क बिसाएर संसद्‌ छिर्ने रेणुको यात्रा आकस्मिक रूपमा सुरु भयो। उहाँ भारी मतका साथ संविधान सभा सदस्य निर्वाचित हुनुभएको हो ।

पहिलो संविधान सभामा पुग्दा कानुन निर्माणको कुनै औपचारिक ज्ञान नभए पनि उहाँले जनताको अधिकार, गणतन्त्र र ३३ प्रतिशत महिला सहभागितालाई संविधानमा लिपिबद्ध गर्न संघर्ष गर्नुभएको तथ्य दिनको घाम जस्तै छर्लङ्ग छ ।

आज राष्ट्रिय सभामा रहनुभएका रेणु चन्द केवल पुराना दलहरूको कार्यशैलीप्रति मात्र होइन, सामाजिक सञ्जालको भरमा ‘रहस्य र स्टन्ट’को राजनीति गर्ने नयाँ शक्तिहरूमाथि पनि उत्तिकै निर्मम प्रश्न गर्नुहुन्छ । “सरकार र संसद् सामाजिक सञ्जालको भिडियोबाट होइन, जनताप्रतिको पारदर्शी जवाफदेहिता र ठोस कानुनबाट चल्नुपर्छ,” उहाँको दृढ अडान छ।

मुम्बईको एउटा सानो कोठाबाट सुरु भएर भीर-पहरामा गम्छा बाँधेर हिँडने ती किशोरी आज नेपालको नीति निर्माण तहमा उभिएर भुइँतहका जनताको आवाज बुलन्द गरिरहनु भएको छ ।