प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको भन्दै त्यसको सामना गर्न राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन्।
एमाले केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै ज्ञवालीले संकटको समाधानका लागि पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकताको अगुवाइ एमालेले गर्नुपर्ने बताए। उनका अनुसार पार्टीको पुनर्जागरणको आधार पनि आन्तरिक एकता नै हो।
ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएको दाबी गर्दै रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने बताए। उनले एमालेले आफूलाई थप सुदृढ र रूपान्तरित गर्नुपर्नेमा जोड दिए।
एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसको सामना गर्न संगठनात्मक सुदृढीकरण र पार्टीभित्र बलियो एकता आवश्यक रहेको बताए।
निर्वाचनपछिको बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको भन्दै ज्ञवालीले पुनर्गठनको बहस व्यक्ति केन्द्रित हुन नहुने धारणा राखे। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आन्तरिक संघर्षभन्दा योजनाबद्ध नेतृत्व विकास र भावनात्मक एकता निर्माणमा केन्द्रित हुन सुझाव दिए।
ज्ञवालीले एमालेमा ठूलो वैचारिक समस्या नरहे पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको बताए। पार्टीलाई लागेको पछिल्लो धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उनको भनाइ थियो।
उनले कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाएर अघि बढ्नुपर्ने तथा जनजीविकाका सवाललाई पनि पार्टीको प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, पार्टीभित्रका असहमति सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्तिले दिगो रूपमा समस्या समाधान नगर्ने धारणा व्यक्त गरे।