logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

देउवा पक्षीय कांग्रेसको समानान्तर महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
देउवा पक्षीय कांग्रेसको समानान्तर महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौँ / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्ने भएको छ। संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले समानान्तर रूपमा आफ्नो महाधिवेशन प्रक्रिया थालेको हो।

देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्दै असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने जनाएको छ।

यस समूहले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको र आजको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक परिचालन गरिएको जनाएको छ। समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन अधिवेशनमा सक्रिय सहभागिताका लागि नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई अपिल गर्नुभएको छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन। आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने पक्षमा देउवा समूह रहँदै आएको छ।