logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

प्रचण्डलाई आफू बूढो भए भनेर पन्छिने छुट छैन

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
प्रचण्डलाई आफू बूढो भए भनेर पन्छिने छुट छैन

प्रचण्ड साँच्चिकै कमजोर भएका हुन्, कि उहाँलाई कमजोर बनाइँदै छ ?

हिजो जम्मा ३२ सिट लिएर संसद्को तेस्रो दलको नेतृत्व गरेका तत्कालीन माके अध्यक्ष प्रचण्डले विपरीत विचार बोकेको राप्रपालाई समेत विश्वासमा लिएर संसद्मा प्रतिपक्ष पनि हुन्छ भन्ने संसदीय मान्यतालाई भत्काउदै संसद्को पहिलो र दोस्रो दललाई नै प्रस्तावक र समर्थक बनाएर सर्वसम्मत रूपमा तेस्रोपटक प्रधानमन्त्री बन्ने राजनीतिक कौशल देखाए। संसदीय राजनीतिमा असम्भवजस्तै देखिने समीकरणलाई सम्भव बनाउने त्यो क्षमता प्रचण्डसँग मात्रै थियो।

तर विडम्बना! राष्ट्रिय राजनीतिमा असम्भव समीकरण बनाउन सक्ने प्रचण्डले पार्टीभित्रको समीकरण मिलाउन र आन्तरिक गुटबन्दी अन्त्य गर्न भने सकेनन्। जुन कुरा रबि र गगनले आफ्नै पार्टीको राजनीतिमा गरेर देखाए, त्यो क्षमता प्रचण्डले वर्षौंदेखि आफ्नै पार्टीभित्र प्रयोग गरेको देख्न पाइएन। हामी त्यसकै प्रतिक्षामा थियौं।

संसद्मा विपक्षी विचारलाई समेत विश्वासमा लिन सक्ने प्रचण्ड पार्टीभित्रका फरक विचारलाई किन विश्वासमा लिन सक्दैनन्?

सीमित व्यक्तिहरूको घेराभित्र रमाउँदा प्रचण्डले पार्टीभित्रको फरक मतलाई संस्थागत गर्न सकेनन्। उनीसँग असहमत हुनेहरू आफ्नै पार्टीभित्रका केही सीमित व्यक्तिबाट निरन्तर प्रहारको सिकार भइरहँदा नेतृत्वले त्यसलाई रोक्नुको सट्टा मौन बसेर मलजल बसेको देख्न सकिन्थ्यो। यदि प्रचण्डले समयमै मन फराकिलो बनाएर फरक विचारलाई सम्मान गर्ने, असन्तुष्टहरूलाई समेट्ने र प्रतिस्पर्धालाई संस्थागत गर्ने रणनीति अपनाएका थिए त आज पार्टीको अवस्था यति कमजोर हुने थिएन। चौथो दल बनेर सीमित सिटमा खुम्चिनुपर्ने परिस्थिति पनि सायद आउने थिएन।

प्रश्न उठ्छ, यति ठूलो एकता आखिर कसका लागि थियो?

हामीले देखेको प्रचण्डको राजनीतिक हैसियत यति कमजोर थिएन। प्रश्न उहाँको ऐतिहासिक क्षमता र राजनीतिक चातुर्यमाथि होइन, त्यो क्षमता पार्टी निर्माणमा किन प्रयोग हुन सकेन भन्ने हो।

बृहत् कम्युनिस्ट एकताको नाममा माओवादीको नाम, सिद्धान्त र चुनाव चिह्नसमेत औपचारिक रूपमा विसर्जन गर्दै झन्डै १७ वटा बटुवा पार्टी जोडजाड पारेर बनाइएको नेकपा आज हामीसँग छ। तर प्रश्न उठ्छ, यति ठूलो एकता आखिर कसका लागि थियो? पार्टीको आकार बढाउन मात्रै कि विचार, संगठन र नेतृत्वको नयाँ आधार निर्माण गर्न?

पार्टीभित्रका दुईतिहाइभन्दा बढी सदस्यले प्रचण्डकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने आवाज उठाइरहेका छन्। पछि जोडिएर आएका नेताहरूको ठूलो हिस्सासमेत प्रचण्डकै नेतृत्व स्वीकार गरेर आएको अवस्थामा पनि प्रचण्ड आफैँले महाधिवेशनमार्फत नेतृत्व र संगठनलाई नयाँ जीवन दिन किन सकिरहेका छैनन्?

अहिले तत्काल प्रचण्डलाई चुनौती दिने गरी अर्को सशक्त गुट तयार छैन। जनयुद्धदेखि गणतन्त्र स्थापनासम्मको ऐतिहासिक विरासत, राजनीतिक अनुभव र आन्दोलनलाई सम्हाल्ने क्षमता भएका निर्विकल्पजस्तै देखिने प्रचण्डले आफ्नै नेतृत्वमा पार्टीलाई अघि बढाउँदै वडा तहदेखि केन्द्रसम्म नयाँ, सक्षम र ऊर्जाशील नेतृत्व स्थापित गर्न किन सकेका छैनन।

प्रचण्ड अध्यक्षमै निरन्तर रहून्, तर बाँकी पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धाको ढोका खुलोस् भन्ने हाम्रो चाहना हो।

वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म महाधिवेशनबाट नेतृत्व चयन होस्। योगदान, क्षमता, विचार र जनसम्बन्धका आधारमा नयाँ पुस्ताले प्रतिस्पर्धा गर्ने अवसर पाओस्। नेतृत्वको निरन्तरता र संगठनको पुस्तान्तरण एकअर्काका विरोधी होइनन्। बरु अनुभवी नेतृत्वको अभिभावकत्वमा नयाँ पुस्ताको उदयले पार्टीलाई थप जीवन्त बनाउन सक्छ।

इतिहासको विरासत भाषण र विगतको योगदानले मात्रै जोगिँदैन

तर एउटा कुरा, महाधिवेशनमा जाँदा आफूहरू बढारिने डरले प्रचण्डलाई उहाँका वरपरका सीमित व्यक्तिहरूले हाउगुजी देखाइरहेका छन्? कि प्रचण्ड स्वयं नै प्रतिस्पर्धासँग डराउन थालेका हुन्? अथवा उनी साँच्चिकै उमेर र थकानका कारण पहिलेको जस्तो राजनीतिक ऊर्जा गुमाउँदै छन्?

प्रचण्डलाई इतिहासले ठूलो जिम्मेवारी दिएको छ। तर इतिहासको विरासत भाषण र विगतको योगदानले मात्रै जोगिँदैन; त्यसलाई संस्थागत गरेर नयाँ पुस्ताको हातमा हस्तान्तरण गर्न सक्नुपर्छ। लथालिङ्ग छोड्न मिल्दैन।

किनकि यो केवल एउटा व्यक्तिको अध्यक्ष पदको प्रश्न होइन। यो हजारौँ सहिदका सपना, लाखौँ कार्यकर्ताको योगदान र एउटा ऐतिहासिक आन्दोलनको भविष्यको प्रश्न हो।

प्रचण्डले फेरि एकपटक आफ्नो राजनीतिक उचाइ प्रमाणित गर्नुपर्छ, आफ्नो कुर्सी जोगाएर मात्रै होइन, आफू अध्यक्ष रहँदै आफूभन्दा तलका सबै तहमा नयाँ नेतृत्व जन्मिने वातावरण बनाएर।

इतिहास बनाउने नेताको अन्तिम परीक्षा आफू कति लामो समय पदमा बस्यो भन्ने होइन, आफूले कति सक्षम उत्तराधिकारी र कति जीवन्त संगठन निर्माण गर्‍यो भन्ने हो। प्रचण्डलाई अहिलेनै हार मान्ने छुट छैन। नत थाक्ने र बूढो हुने छुट छ। बलियो उत्तराधिकारि तयार नहौन्जेल पदमै रहेर बाँकि पदमा माथि भने जस्तै गर्न सकुन हाम्रो शुभकामना !