logo
२०८३ आश्विन २५, आईतबार |
☰
📰
🔍
✕

नागरिकको विश्वास जित्ने गरी कांग्रेसलाई रूपान्तरण गर्छु : गगन थापा

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
नागरिकको विश्वास जित्ने गरी कांग्रेसलाई रूपान्तरण गर्छु : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।

‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ उनले भने।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने बताए। उनले पार्टीभित्र जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्नेमा जोड दिए।

महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै उनले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्न लाग्नुपर्ने बताए।

‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।

सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै थापाले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताए। प्रतिस्पर्धामा रहेका खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो।

थापाले पार्टीको नयाँ नेतृत्वले कार्यशैली परिवर्तन, जवाफदेहिता वृद्धि र नागरिकको विश्वास प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।