प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन २७, मंगलबार
काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना भइरहेको छ।
निर्वाचन समितिका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी र अन्य क्लस्टरको तयारी भइरहेको छ। जनसम्पर्कतर्फका सात केन्द्रीय सदस्य तथा पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ।
हाल खुला तथा महिला सहमहामन्त्री, महिला केन्द्रीय सदस्य, आदिवासी जनजातितर्फका पद र सुदूरपश्चिम प्रदेशसहित विभिन्न समावेशी समूहका पदको मतगणना भइरहेको छ। दलित, मधेसी, खस–आर्य, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति तथा पेसागत समूहका बाँकी पदको मतगणना पनि अघि बढाउने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।