logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

बेथानचोकमा लेदोसहितको बाढीले दुई घर र गोठमा क्षति, १६ जना सुरक्षित स्थानमा सारिए

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
बेथानचोकमा लेदोसहितको बाढीले दुई घर र गोठमा क्षति, १६ जना सुरक्षित स्थानमा सारिए

काभ्रे / अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।

आज बिहान आएको लेदोमाटोले स्थानीय शेरबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्ताको छानो भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको छानोको जस्ता मात्र देखिने गरी लेदोमाटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो।

सोही स्थानमा रहेको शेरबहादुरकै अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरमा समेत लेदोसहितको पानी पसेको छ। हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठमा पनि पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ–आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित रूपमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ।