प्रभातफेरी अनलाइन५ पटक पढिएको | ५४ मिनेट अघि
काठमाडौँ / राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बाँकेको सिक्टा सिँचाइ आयोजनाले थप १०० हेक्टर र बर्दियाको बबई सिँचाइ आयोजनाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन्।
सिक्टा आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गरी ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। बबई आयोजनाले पनि सोही अवधिसम्म ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले जानकारी दिएका छन्।
रानी जमरा कुलरिया आयोजनाको भौतिक प्रगति १५ प्रतिशत
विभागका अनुसार कैलालीको टिकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। साउनमा ८ प्रतिशत रहेको भौतिक प्रगति बढेर १५ प्रतिशत पुगेको हो। यसैगरी वित्तीय प्रगति ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ।
आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ।
यस्तै, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाले भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।