प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ कार्तिक १५, आईतबार
काठमाडाैं / भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार सुरु गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकनपछि माथिल्लो डोल्पातर्फ गएका पर्यटक केही दिनदेखिको हिमपातका कारण दानीगढमा फसेका थिए।
अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएकी छन्।
पर्यटक फसेको स्थानमा नेटवर्क नहुँदा फोन सम्पर्क हुन नसकेको भए पनि उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सम्पर्कमा रहेको बताइएको छ।
माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रीलाई जान रोक लगाइएको भए पनि उनीहरू उक्त निर्देशन अटेर गर्दै त्यसतर्फ गएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ढकालले प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमप्रति सजग र सतर्क रहन सबैलाई आग्रह गरेकी छन्।