logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

प्रभातफेरी अनलाइन१  पटक पढिएको | २६ मिनेट अघि
जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

काभ्रे, कार्तिक १४/ जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजना तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।

२०८३ कार्तिक १४ गते शनिबार पञ्चकन्या सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा आयोजित उक्त शिविरमा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोग रहेको थियो। शिविरमा सहभागीहरूको आँखा परीक्षण, आँखासम्बन्धी समस्याको पहिचान तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

शिविरका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीहरूको जिल्ला सहकारी संघ लि. काभ्रे र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौताअनुसार निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।

जिल्ला सहकारी संघ लि. काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संघले आर्थिक तथा संस्थागत गतिविधिसँगै समुदायको स्वास्थ्य र सामाजिक हितलाई समेत प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले सदस्य सहकारी संस्थाहरूसँगको सहकार्यमा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले सहकारी संस्थाहरूको सामाजिक उत्तरदायित्व र सामुदायिक विकासप्रतिको भूमिकालाई थप उजागर गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सह–आयोजक संस्था तथा प्राविधिक सहयोगी अस्पतालप्रति जिल्ला सहकारी संघले आभार व्यक्त गरेको छ।