प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
झापा / जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रूपमा आयातित फूल तथा प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न गैरकानुनी रूपमा फूल आयातमा रोक लगाइएको जानकारी दिनुभएको छ।
तिहार तथा छठजस्ता पर्वमा ठूलो मात्रामा खपत हुने फूल खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा भित्रिने गरेको प्रशासनले जनाएको छ। यसलाई नियन्त्रण गर्दै स्थानीय किसानले उत्पादन गरेका सयपत्री र मखमली फूलको प्रयोग बढाउन प्रशासनले आग्रह गरेको छ।
प्रजिअ पोखरेलले जिल्लालाई आवश्यक पर्ने फूल स्थानीय व्यवसायी तथा किसानले नै उत्पादन गरिसकेको उल्लेख गर्दै यस वर्षको चाडपर्वमा स्वदेशी फूल प्रयोग गरी स्थानीय किसानलाई प्रोत्साहन गर्न जिल्लावासीलाई अनुरोध गर्नुभएको छ।
यस वर्ष मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्तिलगायतका पालिकामा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्। स्थानीय उत्पादन घरआँगन सजावट तथा चाडपर्वका लागि पर्याप्त हुने अनुमान गरिएको छ।