logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाहको घोषणा : ३३ स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
प्रधानमन्त्री बालेन शाहको घोषणा : ३३ स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मअनुसार राज्यका सेवा तथा सुविधालाई नागरिकको नजिक पुर्‍याउने उद्देश्यले सरकारले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अघि बढाएको बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत ‘गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै’ भन्दै राज्य र नागरिकबीचको दूरी घटाउनु नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य रहेको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य राखिएको छ। संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ बमोजिम सेवा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभएको छ।

उहाँका अनुसार हालसम्म देशका ३३ वटा स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ।