प्रभातफेरी अनलाइन० पाठक संख्या | ९ सेकेण्ड अघि
काभ्रे / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूका लागि बीपी भवनको ढोका सधैँ खुला रहेको बताउनुभएको छ। उहाँले चुनदेवीलाई हेर्ने पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन नभएको स्पष्ट पार्दै सबैलाई पार्टीभित्रै रहेर जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले बनेपामा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन तथा बृहत् रक्तदान कार्यक्रममा सम्बोधन गर्दै उपसभापति शर्माले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म पार्टीले कुनै पनि विधि, विधान र प्रक्रिया नमिचेको दाबी गर्नुभयो।
सम्बोधनका क्रममा उहाँले पार्टीभित्र देखिएका विवाद र अन्योलका बीच कार्यकर्तालाई आफ्नो जिम्मेवारी नभुल्न आग्रह गर्नुभयो। राष्ट्रिय आवश्यकताका कारण देश र पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो।
पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न नेताहरूलाई जोडेर रकम लेनदेन भएको भन्दै भइरहेका प्रचारप्रति टिप्पणी गर्दै शर्माले प्रमाणबिना फैलाइने हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले आफू र गगन थापालाई जोडेर करोडौँ रुपैयाँ लेनदेन भएको भन्ने आरोपप्रति व्यङ्ग्यात्मक टिप्पणीसमेत गर्नुभयो।
उहाँले भन्नुभयो, “एउटा बिचौलियाले कतै भन्यो अरे भन्दैमा त्यसलाई सत्य मान्न मिल्छ ? कसैले प्रधानमन्त्री बनाउन ५० करोडमा डिल भएको थियो भनेर भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?”
शर्माले पार्टीका सबै काम विधि र विधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको जिकिर गर्दै कांग्रेस अब देशका लागि नयाँ सपना र हुटहुटी बोकेर अघि बढेको बताउनुभयो।
“ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान र प्रक्रियाबमोजिम इमानदारीपूर्वक सबै काम भएको छ। कांग्रेस अब देशका लागि सपना बोकेर अघि बढेको छ। त्यसलाई साकार पार्नु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो।