प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेश / तिहार पर्व सकिय लगत्तै मिथिला क्षेत्रमा आस्था, श्रद्धा र निष्ठाको महापर्व छठको रौनक छाउने गरेको छ । जसको सुरुवात आजबाट हुदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेश सहित मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ । पर्वको स्वागत र तयारीका लागि स्थानीयवासी घरदेखि नदी, पोखरी तथा धार्मिक जलाशयसम्म सरसफाइ र सजावटमा जुटेका छन् ।
सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको उपासना गरिने यस पर्वको तयारीसँगै मिथिलाका घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । सूर्यदेवको महिमा र छठीमाताको आराधनासँग सम्बन्धित भक्तिगीतले गाउँबस्तीको वातावरण छठमय बनेको छ ।
छठ पर्वका लागि नदीकिनार, पोखरी तथा अन्य जलाशयमा छठघाट निर्माण र सरसफाइको काम तीव्र पारिएको छ । विशेषगरी युवाहरू घाट निर्माण, सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्राको प्रयोग गरी घरका भित्ता लिपपोत गर्ने, रङरोगन गर्ने तथा घरआँगन सजाउने काम पनि भइरहेको छ । सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएपछि गाउँबस्तीमा पर्वको उल्लास थपिएको छ । आर्थिक अवस्था जस्तोसुकै भए पनि सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र भक्तिपूर्वक छठ मनाउने तयारी गरेका छन् ।
पर्वको चहलपहलले स्थानीयवासीको दैनिकीसमेत छठमय बनेको छ । छठको तयारीसँगै मिथिला क्षेत्रका बजारमा पूजासामग्री किनमेल गर्नेको भीड बढेको छ । केराका घरीसहित छठमा आवश्यक पर्ने विभिन्न सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर तथा जटा भएका सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन् ।
त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो तथा पङ्खालगायत परम्परागत सामग्रीको व्यापार पनि बढेको छ । छठ पूजाका सामग्री राख्न प्रयोग गरिने यस्ता सामग्रीको माग साप्ताहिक हाटबजारमा उल्लेख्य देखिएको छ । दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बिक्रीसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्परा रहेकाले बाँसबाट निर्मित सामग्री र माटाका भाँडाको माग बढेको हो ।
यता, घरघरमा छठको मुख्य प्रसाद ठकुवा र भुसुवा बनाउने चटारो पनि सुरु भएको छ । गृहिणीहरू प्रसाद तयारीमा व्यस्त देखिएका छन् । चामल र गहुँको पिठो घरमै ढिकी तथा जाँतोमा कुट्ने र पिँध्ने परम्परालाई अझै निरन्तरता दिइएको छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने छठ पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गर्ने चलन छ । मिथिलाका महिलाहरू अर्थात् मिथिलानीहरू छठका लागि आवश्यक खाद्य सामग्री र प्रसाद तयार गर्न जुटेका छन् ।
मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाउने परम्परा छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । दोस्रो दिन व्रतालुले निराहार व्रत बसेर साँझ ‘खरना’ गर्छन् । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छठ पर्वले सामाजिक सद्भाव, एकता र सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ । यस पर्वमा पुराना मनमुटाव र वैमनस्यता बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । छठघाटमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबैले एकै लहरमा बसेर पूजा गर्ने चलनले सामाजिक समानताको सुन्दर उदाहरण प्रस्तुत गर्छ ।
छठको तयारी र सामूहिक सहभागिताले मानिसलाई विनम्र, सहयोगी र एकताबद्ध बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गरिने यस पर्वले मिथिलाको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको छ ।