प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक २२, आईतबार
काठमाडौं / तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। आगामी पुस २४ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकार जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्कालाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। तीन पात्रको रोचक संयोजनले चलचित्रको कथावस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने देखिन्छ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन्। गीतकारसमेत रहेकी अधिकारीको यो पहिलो चलचित्र निर्देशन हो। चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् भने संगीत सुमन केसी र किरण कँडेलले दिएका छन्।
चलचित्रमा बिनोद बलको छायांकन, अमित श्रेष्ठको ध्वनि डिजाइन, नहकुल खड्काको सम्पादन तथा पार्किष गिरी र अमित श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको छ। पारिवारिक कथावस्तुमा आधारित चलचित्रको कोरियोग्राफी राजीव समरले गरेका छन्।
चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन्।