प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक २०, शुक्रबार
नेपालगन्ज / नेपालगन्जमा चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक गरिएको छ। बास नेपालको समन्वयमा आयोजित कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक भएसँगै गायक ठकुरीले स्टेजमा लाइभ प्रस्तुति दिएका थिए। उनले गीत गाइरहँदा म्युजिक भिडियोकी मोडल करिष्मा शाही ठकुरीसमेत स्टेजमा आएर नाच्न थालेपछि उपस्थित सहभागीहरू गीतको तालमा झुमेका थिए।
पश्चिम नेपालको भाषामा तयार पारिएको उक्त गीतको सार्वजनिकिकरण वरिष्ठ संगीतकार तथा कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश शर्माले गरेका थिए।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाहरूको गीत–संगीतप्रतिको लगाव सुखद रहेको बताउँदै सार्वजनिक गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गीत र म्युजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको बताइन्। बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले स्थानीय कला र संस्कृतिको संरक्षणमा संस्थाले भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे। अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले गीतको सफलताको शुभकामना दिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो। गीत सार्वजनिकिकरणसँगै तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।