प्रभातफेरी अनलाइन० पाठक संख्या | १६ सेकेण्ड अघि
काठमाडौं / नेपाल सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने जानकारी गराएको हो।
मन्त्रालयका अनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा यसअघि नै सार्वजनिक बिदा दिइएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा थप गरिएको सार्वजनिक बिदाबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ । यस निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
