logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

मस्कोमा प्रचण्ड: आर्थिक स्वतन्त्रताबिना राष्ट्रिय सार्वभौमसत्ता अधुरो

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
मस्कोमा प्रचण्ड: आर्थिक स्वतन्त्रताबिना राष्ट्रिय सार्वभौमसत्ता अधुरो

मस्को: नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित “राष्ट्रहरूको स्वतन्त्रताका लागि” अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्नुभएको छ। उहाँले विश्व इतिहास संवेदनशील मोडमा रहेको बताउँदै राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वतन्त्रता अपरिहार्य रहेको जोड दिनुभयो।

रसियाको सत्तासीन दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधिको सहभागिता थियो। आयोजक दलका संयोजक V. Yakushevले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए। प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाली जनताको तर्फबाट आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

सम्बोधनका मुख्य बुँदा
आर्थिक र राजनीतिक स्वाधीनता: कुनै राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन।

बहुध्रुवीय विश्व व्यवस्था: बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ। सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्छ।
दक्षिण-दक्षिण सहकार्य: सीमित बाह्य वित्तीय केन्द्रमा भर पर्नुभन्दा व्यापार, लगानी र पूर्वाधार साझेदारीमार्फत अर्थतन्त्र बलियो बनाउनुपर्छ।

वित्तीय प्रणाली सुधार: विश्वव्यापी वित्तीय संस्था लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ। जोखिम घटाउन स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको खोजी गर्नुपर्छ।

प्रविधि र औद्योगिकीकरण: ‘ग्लोबल साउथ’ कच्चा पदार्थको आपूर्तिकर्तामा सीमित हुनुहुँदैन। औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्छ।

नेपालको अनुभव र परराष्ट्र नीति
प्रचण्डले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको स्मरण गराउनुभयो।

छिमेकी मुलुकसँगको सम्बन्धबारे उहाँले भन्नुभयो, “भारत र चीनको बीचमा रहेको सार्वभौम, भू-परिवेष्ठित विकासोन्मुख देशको रूपमा नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ। हाम्रो भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्छ, भू-राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल होइन।”

रसियासँगको दीर्घकालीन मैत्रीको कदर गर्दै उहाँले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिमा सहकार्य थप सुदृढ गर्न चाहेको स्पष्ट पार्नुभयो।

सम्बोधनको अन्त्यमा उहाँले कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन् र विकासको अधिकारबाट कोही वञ्चित नहुन् भन्दै स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि सङ्घर्षरत जनसमुदायप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो।