प्रभातफेरी अनलाइन५ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
फोटो क्याप्सन: पश्चिम नवलपरासीको धान खेत। यस वर्ष अनुकूल मौसमका कारण जिल्लामा २० प्रतिशतले धान उत्पादन वृद्धि भएको छ।
टिकाराम गैरे, परासी
परासी । पश्चिम नवलपरासीका खेतहरूमा यसपटक धानका लटरम्म बाला झुलेका छन्। अनुकूल मौसम र किसानको मेहनतले जिल्लामा धान उत्पादनमा उल्लेख्य वृद्धि भएको हो।
कृषि ज्ञान केन्द्र परासीका अनुसार यस वर्ष जिल्लामा धान उत्पादन २० प्रतिशतले बढेको छ। गत वर्ष १ लाख ७ हजार १ सय ६५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष १ लाख १४ हजार मेट्रिक टन धान किसानले भित्र्याएका छन्। अर्थात् गत वर्षको तुलनामा ७ हजार मेट्रिक टन बढी उत्पादन भएको हो।
पश्चिम नवलपरासीमा धानको बम्पर उत्पादन : २० प्रतिशतले वृद्धि, तर किसानलाई समर्थन मूल्यको चिन्ता
कृषि ज्ञान केन्द्रका अनुसार उत्पादन बढ्नुका कारण रोपाइँदेखि धान पाक्ने बेलासम्म नियमित वर्षा र पर्याप्त चिस्यान हुनु हो।
ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रप्रकाश गुप्ताले बताएका छन्। उहाँका अनुसार रोग–कीराको प्रकोपमा कमी र गुणस्तरीय बीउको प्रयोगले पनि उत्पादन बढाउन मद्दत गर्यो।
“जसका कारण यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको हो। अनुकूल मौसम र नियमित वर्षाका कारण किसानले राम्रो उत्पादन लिन सकेका छन्,” गुप्ताले थपे।
जिल्लाको कुल भूमिमध्ये २२ हजार ९६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। जिल्लाका किसानले हाइब्रिड, साँवा, हर्दिनाथ, कालानमकजस्ता जात लगाएका थिए। पाल्हीनन्दन–४ का किसान सन्दीप धवल भन्छन्, “गत वर्षभन्दा यस वर्ष धान निकै राम्रो भएको छ। एउटै परिमाणको धानबाट प्रतिक्विन्टल २५ देखि ३० किलोग्रामसम्म बढी चामल बसेको अनुभव छ।”
जिल्लाका अन्य कृषियोग्य भूमिभन्दा रामग्राम, सरावल, पाल्हीनन्दन, सुनवल र बर्दघाट मुख्य धान पकेट क्षेत्रका रूपमा रहेका छन्।
उत्पादन बढेर किसान खुसी भए पनि बजारले दिने दुःख उत्कर्षमा पुगेको पाल्हीनन्दनकी किसान सुन्दरी चौधरीको गुनासो छ।
यस्तै, सरावल–६ का किसान इसरायल धुनियाको गुनासो पनि उस्तै छ। “प्रकृतिले साथ दियो, सरकारले निर्णय गर्यो, धान उत्पादन त बढ्यो। तर किसान व्यापारीबाट ठगिँदै आएको तितो यथार्थ झल्झली मानसपटलमा घुमेको छ। हिउँदे बालीका लागि धान बेचेर मल–बीउ किन्ने बेला व्यापारीले प्रतिमन ३ हजार रुपैयाँसम्म घटाएर भिराउने गरेको” भन्दै उहाँले तिक्तता व्यक्त गर्नुभयो।
हालै सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकेको छ। तर किसानले त्यो मूल्य नपाएको स्वयं प्राविधिकहरू स्वीकार्छन्।
उत्पादन बढाउन ज्ञान केन्द्रले गुणस्तरीय बीउ प्रवर्द्धन, मसिना धान खेती र ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरणलाई प्राथमिकता दिँदै आएको छ।
“किसानलाई आवश्यक कृषि उपकरणमा अनुदान र बीउको गुणस्तर सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ,” गुप्ताले खुलाउनुभयो।
कृषकको उत्पादन बढ्यो, गोदाम भरियो। तर भण्डारण, प्रशोधन र उचित बजार नहुँदा किसानको मेहनतको प्रतिफल भने अधुरो छ।