प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे
सूर्यप्रसाद लाकोजु । कवि, बाल कथाकार, साहित्यिक पत्रकार, अनुसन्धानदाता, शिक्षक यसरी बहुआयामिक छन् लाकोजु । हालसम्म उनका विभिन्न विधाका करिब दुई दर्जन कृति प्रकाशित भईसकेका छन् । साहित्यिक गतिविधिमा सत्प्रयास उनको महत्वपूर्ण पाटो हो । नेपालीभाषा, साहित्यलाई उनी अत्यन्तै माया गर्छन् । यस अघि भावनाका फूलहरु (२०५४), फूलहरुको मेला (२०६७), शास्वत स्वरहरु (२०७५) मुक्तक संग्रह प्रकाशित गरेका सूर्यप्रसादको हालै स्वर्णिमका धुन मुक्तक संग्रह प्रकाशित भएको छ । एक सय एकवटा मुक्तकहरु समावेश भएको यो संग्रह पनौती साहित्य समाजले प्रकाशित गरेको हो । मुक्तकमा पनि लाकोजु राम्रै जमेका छन् ।
मुक्तक भन्ना साथ कविताको सानो रुप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यको स्वतन्त्र विधाको रुपमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ रहेको हुन्छ । तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतन्त्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ । भनाईको मतलब कुनै पनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठान गरेको हुन्छ, यसको समर्थनमा दोस्रो हरफ रहन्छ र तेस्रो हरफले स्वतन्त्र रुपमा मुक्तकको पृष्ठभूमी उजागर गर्छ र अन्त्यमा चौथो हरफले वजनदार झड्का दिन्छ । अन्त्यानुप्रास मिलेमा मात्र मुक्तक बन्छ । मुक्तकमा कमभन्दा कम शब्द प्रयोग गर्नु राम्रो मानिन्छ ।
यस स्वर्णिमको धुनमा कतै सूर्यप्रसाद लाकोजु वर्तमान फोहोरी राजनीतिप्रति दिक्क भएर तिखो प्रहार गर्छन् आफ्ना मुक्तकमार्फत भने कतै वर्तमान समयको स्थार्थ, जालझेलको बारेमा बोल्छन् । सर्वसाधारण आम मान्छेका पीडाको आगो ओकल्छन् । सर्वसाधारण मान्छेहरुलाई भरेंग बनाएर सत्तारोहण गर्ने नेताहरु सत्तासिन भएसंगै आफ्ना बाचावन्धन भुलेर स्वार्थको आहालमा पौडि खेलिरहेको यथार्थलाई उनले मुक्तकको विषय बनाएका छन् । पदासिन भएपनि विचारको ढर्रा पुरातन भएकैले जनताले दुःख खेपिरहेको यथार्थलाई सबै सामु राख्छन् उनी । पात्र जो कोहि भएपनि परिपाटी, व्यवहार, आचरण र प्रवृत्ति उही भएकोले जनता मारमा परेको उनको ठम्याई छ । चुनावमा मात्र खोक्रा आश्वासन बाँड्ने नेपाली नेताहरुको फेरिएको बोली र ब्यवहारले मुक्तककारलाई दिक्क बनाँउछ । मै खाउँ मै लाउँ अरु सब मरुन दुर्वलहरु भन्ने कवि शिरोमणी लेखनाथ पौडेलको कविता हरफको चरितार्थ गरेकोमा कविमन उद्धेलित हुन्छ ।
कद अग्लियो तर विचार अग्लिएन
ढुंगा पग्लियो तर मन पग्लिएन
रगतमै बग्ने रहेछ हैकमवादी सोच
पात्रबदलियो तर प्रवृत्तिबदलिएन । (पृष्ठः८८)
लाकोजु समसमायिक नेपाली परिवेश, राजनीति, विचार दर्शन, ब्यक्तिका स्वार्थपना लगायतका विषयमा मुक्तक मार्फत ब्यँगप्रहार गर्छन् । यसरी प्रवृत्तिगत रुपमा भन्ने हो भने स्वर्णिम धुनमा भएका प्रायः मुक्तकहरु ब्यँग प्रधान देखिन्छन् । सामाजिक उत्तरदायित्ववाट कुनै पनि सचेत मान्छे पर भाग्न मिल्दैन् स्वर्णिमका धुनमा पनि उक्त उत्तरदायित्ववोध गरेर विकृत मानसिकतामाथि चर्काे प्रहार गर्छन् ।
विकासका पक्षधर मुक्तककारलाई नेपालको विकासे परिपाटीदेखि दिक्क लाग्छ । पहिलेदेखि चलिआएको बजेट पचाउने, सकाउने मेलोमा हुने विकास जो कोही नेपालीलाई थाहा छ, आर्थिक वर्षको समाप्त हुने बेला विकासहरु धमाधम हुन्छन् । असारे विकासको प्रवृत्ति हामी जो कोहिलाई थाहै छ । दशौं महिनासम्म चुप बस्ने अनि असारमासमा पैसो रोकिने भएकोले विकास गरिटो पलेर पैसा पचाउनेहरुप्रति लक्षित बडो यथार्थबादी र समसमायिक मुक्तक पेश गर्छन् यसरी लाकोजु ः
तारा भएको मसँग सिंगो आकाश छ
अध्याँरोमा नदेखिने मसँग प्रकाश छ
भन्नेले जे सुकै भनून् कसले मुख टाल्न सक्छ
कतै नभएको मसँग असारे विकास छ । (पृ.१२)
कुनै पनि कुराले छोएपछि मात्र लेख्छन् लाकोजु । विषयको गहिराईमा पुगेर कुनै पनि कुराको अनुभुतिले मात्र लेख्छन् । राजनीति, जनताका अभाव गरिवी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन् । राजनीतिक रुपमा चाँडो चाँडो परिवर्तन भएको देखे भोगेका उनी आर्थिक रुपमा गरिवी अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन् । प्रेम, प्रेमिल भाव, जनताको मनोब्यथालाई मुक्तकमा बोल्दछन् । उनका मुक्तकमा देशप्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले वलिष्ठ लाग्छन् मुक्तक । वर्तमान कोरोना कहरले आक्रान्त विश्व परिवेशलाई पनि यहाँ समेटेका छन् ।
उनी आफ्ना मुक्तकहरुलाई लयात्मकताले पुष्ठ पार्न खप्पिस छन् । भाषिक शब्द चयनले मुक्तकमा मिठास भर्न सिपालु छन् । थोरै शब्दमा धेरै आशय ब्यक्त गर्नसक्नु मुक्तकको विशेषता मानिन्छ । यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन् । समय चेतले सान्दर्भिक, राजनीतिक अस्तब्यस्तता प्रतिको तिखो छेडखान, मानविय भाव र संबेदनाले भरिपूर्ण उनका मुक्तकले निरशासँगै आशावादिताको संचार पनि गरेका छन् । सामयिकताको गोलचक्कर वरिपरि छन् मुक्तकहरु भन्दा फरक पर्दैन् ।
संरचनात्मक हिसावले उनको मुक्तक शिल्प राम्रो छ । भाषिक शिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकताअनुसार भएको छ । चोटिला, स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभुतिलाई तिव्र तर रुपमा अभिब्यक्त गर्न मुक्तकहरु सफल देखिएका छन् ।
कुनै पनि मुक्तक झरिलो, खिरिलो, रसिलो र स्वादिलो हुनपर्छ । मुक्तक कलात्मक छोटा कविताको तस्विर भएकोले झट्ट हेर्नासाथ के भन्न खोजेको हो,के सन्देश दिन खोजेको हो प्रष्टताका साथ सम्बोधन गर्न सक्ने हुनुपर्छ । चतुस्पदी मुक्तकको महत्वपूर्ण पक्षहो । यी सबै हिसाबले सूर्य प्रसाद लाकोजुलाई स्वर्णिम धुनले थप परिचित गराएको छ ।
मैले चिनेका लाकोजु कोमल मनका धनी छन् । त्यहि कोमल मनको हार्दिकता पनि मुक्तकमा पोखेका छन् उनले । मीठो भावमा प्रस्तुत हुनसक्नु उनको विशेषता लाग्छ मलाई । सामाजिक उत्तरदायित्व र मानविय संवेदनाबाट नभाग्ने उनको बानी मुक्तकमा समेत छताछुल्ल भएको छ । मुक्तक आफैंमा पूर्ण हुन्छ यसमा शिर्षकको जरुरी पर्दैन । शब्द र विम्बहरुलाई अत्यन्तै सुन्दर रुपमा चयन गर्न सक्दा मुक्तक राम्रो हुने कुरामा शंका छैन् लाकोजुले यस संग्रहमा यस्तै गरेका छन् ।
अन्त्यमा, लाग्छ दुनियाँमा कुनै पनि कुरा आफैंमा पूर्ण हुँदैन । यसैले कुनै पनि सज्रकको सृजना आफैंमा पूर्ण नहुन पनि सक्छ । लाकोजुको सन्दर्भमा पनि त्यहि कुरा लागू हुन्छ । मुक्तक अक्करिला लागेका छन् मलाई । मन पसंद छन् र यति लेख्ने धृष्टता गरें । नेपाली भाषा साहित्यमा अक्षरको खेती बाक्लै गर्ने मित्र सूर्य प्रसाद लाकोजुलाई अझै परिष्कृत कलम चल्दै जाओस् कामना ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |