मोहन दुवाल
एउटै व्यक्तिभित्र धेरै गुण हुनुु भनेको चानचुने कुरा थिएन । धेरै गुणले सम्पन्न थोरै मात्र व्यक्तिहरू हुन्छन् । सबैमा समय पु¥याएर, सबैलाई ध्यान दिएर, कृति सिर्जनामा मन दिएर निरन्तर सिर्जनामा लागेर गएका एकजना सर्वगुण सम्पन्न लेखककै नाम हुन् कृष्णप्रकाश श्रेष्ठ । धेरै वर्ष कृष्णप्रकाश श्रेष्ठ सोभियत रुसमा बसोबास गरे, उतै रसियन महिलाकै मोहनीमा फसेर उनैसँग यिनले विवाह गरे । तर पनि यिनले आफ्नो देश, आफ्नो भाषा र साहित्यलाई बिर्सेनन् । त्यसैले यिनको अथक प्रयास र साधनाबाट थुप्रै नेपाली कृतिहरू रसियन भाषामा र रसियन महत्वपूर्ण ग्रन्थहरूको अनुवाद नेपाली भाषामा गरेर आफूलाई सफल अनुवादकका रुपमा चिनाएर गए । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराइरहने थोरै नेपालीहरूमा यिनको नाम पनि गौरवसाथ लिन सकिन्छ ।
वि.सं. १९९५ अर्थात् नोभेम्बर १९३८ मा काठमाडौं, शोणितपुर, चुनिखेल, थानकोटमा पिता रामबहादुर श्रेष्ठ र माता तेजकुमारी श्रेष्ठको छोरा भई यिनी जन्मेका हुन् । सानैदेखि नै अध्ययनशील श्रेष्ठले आफू २२ वर्षको हुँदा नै सन् १९६० मा मास्कोबाट पत्रकारितामा डिग्री हासिल गरी रेडियो मास्कोमा त्यसबेलादेखि नै अनुवादक, सम्पादक र उद्घोषक भई सेवा पु¥याएको देखिन्छ । र यिनी रहेसम्म यिनले आफूसक्दो नेपाली भाषा र साहित्यको सेवा पु¥याएर गएको देखिन्छ मात्र होइन रुसीहरूलाई नेपालको जानकारी दिनका लागि नेपाली भाषा र संस्कृतिका थुप्रै पुस्तकहरू त्यता प्रकाशित गराएका छन् । आफ्नो देशको भाषा, साहित्य र संस्कृतिका प्रचारक कृष्णप्रकाश श्रेष्ठ निरन्तर लागिरहेर निरन्तर खोजिरहे र निरन्तर जुटिरहेर आफूलाई समर्पित तुल्याएर गएका एकजना लेखक हुन् अर्थात् अन्वेषक हुन् ।
शोधग्रन्थका रूपमा प्रकाशित यिनको नेपालभाषा साहित्य पुस्तक नेपालभाषा वाङ्मयको ऐतिहासिक परम्पराको सिंहावलोकन गरिएको महत्वपूर्ण पुस्तक मानिन्छ । उक्त पुस्तक नेपाली भाषा र रसियन भाषा दुवैमा प्रकाशित छ । विवेचनात्मक अन्वेषणका कृतिहरू लेख्न सिपालु अन्वेषक कृष्णप्रकाश श्रेष्ठले त्यस पुस्तकमा नेपालभाषा साहित्यको ऐतिहासिक विकासको विवेचना सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् ।
मत÷अभिमत खण्ड १ मा साहित्यबारे आफ्नो धारणा कृष्णप्रकाशले यसरी व्यक्त गरेको पाइन्छ – आ–आफ्नो विचार र दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्य पनि हुन सक्छ, यद्यपि कलाका अन्य शाखाहरूले पनि यस्तो माध्यमको रूपमा काम गर्न नसकेका होइनन् । कलात्मक ढङ्गले सिद्धान्त र दृष्टिकोण जनसमक्ष पु¥याउन पनि साहित्यको उपयोग गर्न सकिन्छ । यसरी साहित्यिक धारणा राख्न रुची राख्ने यिनले थुप्रै रसियन प्रगतिवादी साहित्यका कृतिहरू नेपाली भाषीहरूलाई जानकारी दिनु र नेपालीहरूलाई रसियन भाषा र साहित्यको संचार गर्नु यिनले आफ्नो कार्य जस्तै बनाएर गए । २५,००० शब्दहरूको अर्थ रहेको ७२८ पृष्ठको रुसी–नेपाली शब्दकोषका रचयिता कृष्णप्रकाश श्रेष्ठले नेपाली र नेपालभाषाका थुप्रै लोककथाहरू पनि रसियन भाषामा उल्था गरी प्रकाशित गरेका छन् । यति मात्र नभइकन यिनले वास्तुकला, चित्रकला, मूर्तिकलाका सम्बन्धमा र रीतिस्थिति, चाडपर्व, जात्रा गुठीकाबारे पनि थुपै्रै लेखरचनाहरू लेखेर रसियनहरूलाई नेपालीहरूका पहिचानबारे आफ्नो कलममार्फत् सही जानकारी प्रदान गरेको पाइन्छ । यिनले आफ्ना मित्र बनेपाका संस्कृतिविद् ज्ञानकाजी मानन्धरद्वारा लिखित कुमारी चण्डेश्वरी (पाँच अङ्के नाटक) पुस्तक रसियन भाषामा अनुवाद गरी प्रकाशित गरेका छन् । स्थान नाम कोष जस्तो अति महत्वपूर्ण ग्रन्थका लेखकका रूपमा परिचय दिइसकेका यिनका हालसम्म नेपालीमा प्रकाशित अन्य उल्लेख्य कृतिहरूमा १. रुसमा नेपालको अध्ययन (१९८०), २. स्थान नाम कोष (१९८७), ३. नेपालभाषा साहित्य (१९९७), ४. रुसमा नेपालको छवि (२०००), ५. नेपाली समालोचक र समालोचना (वि.सं. २०५७) छन् । रुसी साहित्यका विशिष्ट कृतिहरू नेपालीमा र नेपाली साहित्यका विशेष कृतिहरूलाई रुसी भाषामा उल्था गरेर यिनी दुई देशका सांस्कृतिक दूतजस्तो बनेर आफूलाई दुई देश जोडिदिने पुल बनेर गएका छन् । यिनीद्वारा लिखित थुप्रै विषयका नेपालसँग सम्वन्धित लेख रचनाहरूको सङग्रह रुसी भाषामा पुस्तकहरू प्रकाशित छन् । पत्रकारिता, खेलकुद, पशुपन्छी, पूजा, नेवारी साहित्य, चाडपर्व, धर्म जाति आदिबारे थुप्रै अन्वेषण गर्न पाएका यिनले थुप्रै रुसी भाषाका उत्कृष्ट ग्रन्थहरू नेपालीमा अनुवाद गरेका छन् ।
कृष्णप्रकाश श्रेष्ठ जीवन र जगतप्रति सधैं सजग देखिने स्रष्टा हुन् । देशकै भाषा र साहित्यप्रति पनि यिनी सचेत छन् । राम्रा कार्यहरू गर्न यिनी इमान्दार छन् । लेखन प्रकाशनमा निकै सक्रिय रहेका यिनले रुसजस्तो ठाउँमा रहेर पनि सधैं जुनसुकै बेला पनि सिर्जनामा आफूलाई तल्लीन राखेको पाइन्छ । यिनले आफ्नो मौलिक कृतिहरू लेखेर आफूलाई जीवन्त तुल्याएका छन् भने सङ्ग्रहीत र सङ्कलित कथा, लेखहरूको राम्रो संयोजन गरी प्रकाशन गरेर अनुसन्धान र अन्वेषणमा आफ्नो सही प्रतिभा देखाइदिएका छन् । राम्रा–राम्रा लेख रचनाहरू सुन्दर ढङ्गमा अनुवाद गरेर सिद्धहस्त अनुवादकका रूपमा यिनले अफूलाई उभ्याइदिएका छन् ।
रुसी–नेपाली शब्दकोष, नेपाली–नेपालभाषा शब्दकोष र स्थाननाम कोष लेखेर महत्वपूर्ण सिर्जनाका फाँटहरू हुर्काइसकेका यिनले रुसी र नेपाली जनमनमा आत्मीयताका बूँदहरू छर्कनका लागि सधैं आफूलाई समर्पित तुल्याएर जीवनका क्षणहरु गुजारेर गएको देखिन्छ । लोककथाहरू खोजी गरी उल्था गर्ने, संस्कृतिका आयामहरू उजागर गरी प्रचार गर्ने, व्याकरणका अभ्यासहरू अगाडि राखिदिने र महत्वपूर्ण दृष्टि बिम्बहरु खोतलखातल गरी प्रकाशन गरिदिने कार्यहरू गर्न यिनले पसिनाका बूँदहरू खर्च गरेर आफूलाई समर्पित तुल्याएर गएका छन् । कुनै पनि विषयमा नौलो खोजी गर्नु यिनको दृष्टिचेत हो । त्यसैले त यिनी जहिले पनि नयाँ–नयाँ खोजी गर्न तल्लीन रहे ।
वाङ्मयसेवीका रूपमा सधैं स्मरण गर्न मिल्ने यिनले रसियन भाषामा नेपाली वर्णमाला र रसियन भाषाको वर्णमाला नेपालीमा उल्था गरेका छन् । त्यस्तै थुपै्रै नेपाली महत्वपूर्ण साहित्यका पुस्तकहरू रसियन भाषामा यिनले अनुवाद गरेका छन् । रसियन भाषाका ज्ञाता । नेपाली भाषाका सिद्धहस्त लेखक । अनुवाद कलामा निपूण अनुवादक । भाषा साहित्यका अन्वेषक । साहित्यका ज्ञाता समालोचक । रुसमा नेपाली भाषा साहित्य चिनाउन निकै नै परिश्रम गरेका परिश्रमी । यिनकै प्रयासमा थुपै्र नेपाली लेखकहरूलाई रुसमा चिनाउने काम भएका छन् । संस्कृति, भाषा र साहित्यप्रति मोह जगाउने खालका कार्यहरू गरेर यिनले भाषा, साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएर गएको देखिन्छ ।
लोककथाहरूका सङ्ग्रहकर्ता । इतिहास लेखक । विभिन्न खालका कोशका रचयिता । निबन्ध प्रबन्ध लेख्न सिपालु निबन्धकार । समीक्षक कृष्णप्रकाश श्रेष्ठले थुप्रै महत्वपूर्ण कोशहरू सिर्जना गरेका छन् । नेपाली पाठकहरूलाई रसियन साहित्यको परिचय गराउने सन्दर्भमा यिनले पुश्किनलाई जिप्सी, दुबोभ्स्की, बेल्किनका कथाकहानी मार्फत्, मिखाइल लेर्मोन्तोभलाई हाम्रो जमानाको चरित्रनायक उपन्यासमा, तुर्गनेभलाई गद्यमा कविता, पिता र पुत्रमा लेय तोल्सतोयलाई कथा कहानीमा चिनाएजस्तै अलेक्सान्द्र ग्रीन, गोर्की, शोलोखोभ, आइतमातोभ, सेगाललाई पनि चिनाएका छन् ।
सोभियत रुसमा रहेर नेपाली साहित्यलोचनात्मक चिन्तनको विषयमा विद्यावारिधिको लागि अनुसन्धान, नेपाली साहित्य गरेर संस्कृतिको अनुसन्धानमा संलग्न रहेर रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानको मातहतमा रहेको प्राच्यविद्या संस्थानअन्तर्गत् भारतीय अध्ययन केन्द्रमा यिनी वैज्ञानिक सल्लाहकार पनि भए । मास्कोमा टेलिभिजन र रेडियोको उत्कृष्ट उद्घोषकका रूपमा कार्य गरेकाले १९८८ मा यिनको सम्मान भएको थियो । र त्यस्तै रुसी वाङ्मय प्रज्ञा प्रतिष्ठानबाट यिनी ई.संं २००३ मा साहित्यमा उत्कृष्ट सेवा गरेवापत पुश्किन स्वर्ण पदकले र नेपालमा यिनलाई जगदम्बाश्री पुरस्कारले पनि सम्मानित भइसकेको देखिन्छ ।
यिनी रेडियो मास्कोको नेपाली सेवाका सञ्चालक । उद्घोषक । अनुवादक । सम्पादक । मौलिक कृतिका लेखक । एकजना व्यस्त नेपाली । साहित्यिक गतिविधिमा पनि उल्लेखनीय योगदान दिएर रुसमा सक्रिय रहेर प्रशंसाका पात्र बनेका व्यक्तित्व हुन् – कृष्णप्रकाश श्रेष्ठ । नेपाली छात्रसंघ, सोभियत संघको मुखपत्र किरणका संस्थापक सम्पादक । विश्व साहित्य अनुवाद संस्थान, मास्कोका संस्थापक र प्रधान सम्पादक । हिमाल प्रकाशन गुठीका संस्थापक । रुस सीआईएस नेपाल उद्योग वाणिज्य संघको मुखपत्र सार्थबाहुका सम्पादक । यस्तै यस्तैमा यिनी सेवारत छन् । यसका अतिरिक्त अन्य गतिविधिमा यिनले रुस नेपाल मैत्री एवं सहयोग समाजको उपाध्यक्ष रहेर र अन्तर्राष्ट्रिय आप्रवासी नेपाली सम्मेलन, रुस राष्ट्रिय आयोजक कमिटीका सदस्य रहेर सेवा पु¥याएर गएको देखिन्छ । यिनले आफ्नो सक्रियता, सिर्जना, अनुसन्धान, अनुवाद, विवेचनामार्फत् नेपाललाई विश्व मानचित्रमा चिनाएका छन् । यस अर्थमा नेपालीहरूकै एकजना गौरवशाली नाम भइदिएका छन् – कृष्णप्रकाश श्रेष्ठ ।
२०७८ वैशाखमा सोभियत रुसमा दिवंगत भइसकेर पनि रुस र नेपालका सन्दर्भमा चर्चा गर्दा यिनलाई भुल्न गाह्रो हुन्छ र भइरहेको छ । रुसमा रहँदा–बस्दा पनि नेपाल भूमि सम्झेर यहाँको संस्कृति, इतिहास, रितिरिवाज, भाषा–साहित्यका ग्रन्थहरु प्रकाशन गरेर आफूलाई ‘धन्य’ नेपालीका रुपमा चिनाएर यिनी गएका छन् । यिनै कृष्णप्रकाशसँग रुसमा छँदा पनि फोन–वार्ता बरोबर हुन्थ्यो । उनको चाहना र मेरो इच्छा भएअनुसार ‘जनमत’ को यात्रा रुसमा हुन पाएन । २०७० मा यिनका संस्मरणका पुस्तक ‘चुनिखेलदेखि धुलिखेलसम्म’ जनमत प्रकाशनबाट प्रकाशित भएको थियो । यिनीसँगको आत्मीयता यिनका सिर्जनात्मक लेखनका लागि र अनुवाद साहित्यमा यिनले पु¥याएर गएका योगदानलाई सम्झेर मरणोपरान्त ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ बाट यही २०७८ चैतमा सम्मान हुँदै छ । लेखक स्वर्गीय हुँदैनन् अर्थात् रचना–कृतिहरु सदैव बाँचिरहने भएकोले हामी हेरिरहन सक्छौं र ती कृतिहरुबाट ज्ञान संवरण गरिरहन्छौं ।
यिनले रुसीभाषामा थुप्रै नेपाली भाषाका पुस्तकहरु प्रकाशित गराएका छन् । नेपाली दन्त्यकथा ‘यमलोकमा जिउँदो मान्छे’, लैनसिंह बाङ्देलको ‘लँगडाको साथी’, ज्ञानकाजी मानन्धरको ‘कुमारी चण्डेश्वरी’, देवकोटाको ‘मुनामदन’ र ‘सुनको विहान’ आदिकवि भानुभक्तको ‘लोकको गरुँ हित भनी’ लगायत नेपाली र नेपालभाषाका दशौं कृतिहरु प्रकाशित गराएका छन् । सधैं सिर्जनामा, सधैं वाङ्मय गतिविधिमा लाग्दालाग्दै जीवनलाई विश्रान्ति दिएका यिनले साहित्यलाई सधैं – “जीवनको सुन्दर अभिव्यक्ति हो ।” भनेर गएका छन् । यिनको सिर्जना र वाङ्मयसेवाबाट प्रभावित भएर विश्व नेपाली साहित्य महासंघबाट ‘सगरमाथा साहित्यदूत’ का उपाधिद्वारा विभूषित गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ –
नेपाल र रुसको सम्बन्ध जोड्ने पुल हो – कृष्णप्रकाश
रुसमा रहेर नेपाल खोज्ने लेखक हो – कृष्णप्रकाश
साहित्य र वाङ्मयका विराट स्वरुप पो हुन् यिनी —
अक्षर मनमा राखेर सिर्जना खोप्ने शिल्पी हो– कृष्णप्रकाश ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |