काभ्रे । जनसंख्या बढेसँगै नेपालका सडकमा यातायातको चाप उच्च भएकै कारण सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको छ । यो अवस्थामा सवारी दुर्घटना न्यूनिकरण गर्न नागरिकहरुको साथै स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका रहने जिल्ला ट्राफिक कार्यालय काभे्रका प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले बताउनुभएको छ ।
२१औं शताब्दीको प्रविधिले निम्त्याएको यश, आराम र विलासिता एकातिर छ भने समयको माग अनुसार सवारी साधनको संख्या ह्वात्तै बढ्नु पनि नौलो नभएको प्रतिक्रिया दिँदै प्रमुख श्रेष्ठको कथन थियो– यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यसतर्फ समयको मागसँगै सरोकारवाला निकाय अगाडि बढ्नुपर्ने राय राख्नुहुँदै आफ्नो स्कूले जीवनतर्फ फर्कँदै प्रमुख श्रेष्ठको तर्क थियो– पहिला पहिला विद्यार्थी घण्टौं हिँडेरै स्कूल, कलेज जाने गर्थे । करिब डेढ दशक यता स्कूल, कलेज जानेहरु सवारी साधन चढेर जान थालेका छन् । हिजो हाम्रो गाउँबस्तीमा सामानको ढुवानी कि आफैं बोक्नु पथ्र्याे कि चौपायाको प्रयोग हुन्थ्यो तर आज ति सबै काम सवारी साधनले सहज बनाइदिएको छ । साना हुन् या ठूला, व्यवसायी हुन् या जागिरे सबैलाई सवारी साधन अनिवार्य जस्तै हुन पुगेको छ । हाम्रा गाउँबस्तीमा अहिले सानोभन्दा सानो व्यवसाय गर्ने किसानले समेत सवारी साधन भन्दा टाढा रहन सकिरहेको छैन । उसले दुधदेखि घाँससम्म ओसारपसारमा सवारी साधनको प्रयोग गर्न पछि पर्दैन । यसर्थ, सवारी साधनको प्रयोग दिनप्रतिदिन बढ्दैछ भन्नेमा दुईमत नहोला । यसको सही प्रयोग गर्न सके फाइदै फाइदा । तर त्यही सवारी साधनलाई सही तवरले उपयोग गर्न सकिएन भने वार्षिक अरबौंको क्षति एकातिर हुन्छ भने अर्काेतर्फ मानवीय क्षति हाम्रा लागि पेचिलो बन्न पुगेको छ भन्न पछि पर्नुहुन्न प्रमुख श्रेष्ठ ।
प्रतिक्रियाकै क्रममा आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लातर्फ इंकित गर्दै जिल्लाको उच्च चाप रहेको पूर्वी नाकाको रुपमा स्थापित ऐतिहासिक व्यापारिक नगरी बनेपा क्षेत्र सवारी सञ्चालनको सवालमा अत्यन्तै अस्तव्यस्त बन्न पुगेको यथार्थ स्वीकार्नु हुँदै यस क्षेत्रमा उपयुक्त सडक पेटीको व्यवस्थापन नहुनु, ट्राफिक संकेतहरु माग अनुसारको नहुनुले पूर्वी ढोकाको रुपमा परिचित बनेपा नगरीमा सडकको अवस्था र सवारी साधनको व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रमुख श्रेष्ठले प्रतिक्रिया दिने क्रममा खुलासा गर्नुभएको छ ।
विशेष गरी पुलबजारदेखि बुडोल डाँडासम्मको सडक क्षेत्रलाई हेर्ने हो भने अत्यन्तै नाजुक अवस्थामा छ । २४सै घण्टा सवारी साधनको दोहोरो चाप रहने यस राजमार्गमा न फुटपाथको उचित व्यवस्थापन, न पैदल यात्रुका लागि सडक पेटी, न आकाशे पुल, न साँझको लागि सडक बत्ती नै छ । आफ्नो आगमनको वर्षदिन पार हुनै लाग्दा सम्मको अनुभूति राख्ने हो भने सबैभन्दा बढी दुर्घटना सडक बत्ती अभावकै कारण भएको गुनासो पोख्नु पछि पर्नुभएन प्रमुख श्रेष्ठ ।
समसाँझै फुटपाथमा ओहोरदोहोर गर्ने बटुवा खुट्याउन मुश्किल पर्छ । यस्तो अवस्थामा सवारी चालकले चाहेर पनि दुर्घटना रोक्न सक्ने अवस्था नरहेको प्रतिप्रश्न गर्न पछि पर्नु हुन्न प्रमुख श्रेष्ठ । यो परिवेशमा अरनिको राजमार्ग अन्तर्गत पुलबजारदेखि बुडोल डाँडासम्मको सडक खण्डमा तत्काल सरोकारवाला निकायले सडक बत्तीको व्यवस्था गरिदिएको खण्डमा मानवीय क्षति मात्र होइन, सवारी दुर्घटनामै न्यूनिकरण हुने विश्वास आफूले राखेको प्रमुख श्रेष्ठले बताउनुभएको छ ।
समग्र जिल्लाको सन्दर्भमा भन्ने हो भने पनि सबैभन्दा बढी सडक दुर्घटना हुने स्थान भनेर पहिचान यही खण्डले दिएको छ । त्यसैले स्थानीय सरकार र नागरिकहरुको ध्यानाकर्षण हुनुपर्छ भन्ने विश्वास आफूले लिएको प्रमुख श्रेष्ठको दाबी छ ।
दुर्घटना सम्बन्धी तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि सहरी सडक राजमार्ग पहाडी इलाकाको सडक सहित अधिकांश सडकहरुमा मापदण्ड अनुसार पुग्नुपर्ने पूर्वाधारहरु नपुगेकै कारण सडक दुर्घटनाहरु घटिरहेको तथ्य दिँदै सालाखाला वार्षिक १ हजार पाँच सय देखि १ हजार ८ सयसम्म मानिसको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको बताएको छ । यस किसिमको तथ्यांकलाई हेर्ने हो भने मानवीय हिसाबमा अत्यन्तै डरलाग्दो यो आँकडालाई न्यूनिकरण गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्नुको विकल्प छैन । तपाईं आफैं भन्नुस्, ट्राफिक कार्यालयको जिम्मेवारीभित्र पर्ने हो यि विषयवस्तु, सडक बत्ती, सडक पेटी, बटुवाहरुको लागि छुट्याइएको क्षेत्र फुटपाथ लगायतको व्यवस्थापनको जिम्मेवारी जसको जिम्मामा छ उसले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दैन ? हो बनेपाको समस्या नै यही हो । यदि यो समस्या सम्बोधन भएको खण्डमा बनेपामा सवारी दुर्घटना न्यून हुनेछ भन्ने विश्वास आफूले लिएको प्रहरी निरीक्षक श्रेष्ठको दाबी थियो । हुन त विशेष गरी सडक दुर्घटना हुनुमा चालकको लापरवाही, साँघुरो बाटो, असंवेदनशीलता र खाल्डाखुल्डी नहेरी तीव्र गतिमा साधन चलाउनु, लेनको पालना नगर्नु, ट्राफिक संकेत र ट्राफिक बत्तीको बेवास्ता गर्नु, क्षमताभन्दा बढी यात्रु र सामान बोक्नु दुर्घटनाका केही कारण भएता पनि सार्वजनिक यातायातमा सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ मनन् नगर्नुको उपज वार्षिक हजारौं नागरिकले अनाहकमा ज्यान गुमाइरहेको तथ्यले हामीलाई निरिह सावित गराएको त छैन ?
यसर्थ यो अवस्था सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौं । त्यसैले पनि हाम्रो सानो लापरवाहीले निर्दाेष नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था, अंगभंग भएर बस्नुपर्ने अवस्था नआओस् भन्नकै लागि ट्राफिक नियमको पालना गर्दै सवारी साधनको उपयोग गर्न सकियो भने यस क्षेत्रको गरिमा अझ उचाइमा पुग्ने प्रहरी निरीक्षक श्रेष्ठको दाबी छ ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार काभ्रे जिल्लामा आ.व. ०७६÷०७७ मा सवारी कारवाही २२ हजार ५ सय ९७ बाट १ करोड ९८ लाख २० हजार राजश्व असुली, ०७७।०७८ मा ३९ हजार ६ सय १८ सवारी साधन कारवाहीमा जसबाट ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व असुली भएको छ भने चालु आ.व. माघसम्मको २३ हजार ९ सय ५० सवारी साधनमाथि कारवाही गर्दा २ करोड ७४ लाख ७ हजार ५ सय राजश्व असुली भएको तथ्यांक देखिन्छ भने दुर्घटनाबाट ०७७÷०७८ मा ३१ जनाको मृत्यु, ९३ जना सख्त घाइते र १ सय ३७ जना सामान्य घाइते भएको तथ्यांकले देखाएको छ । चालु आ.व.को माघसम्मको तथ्यांक हेर्दा ७९ वटा सवारी दुर्घटना भएका छन् जसबाट १८ जनाले ज्यान गुमाएका छन् । सख्त घाइते ३३ जना छन् भने सामान्य घाइते १ सय ३ जना रहेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले उपलब्ध गराएको अभिलेखबाट पुष्टि भएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |