logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

प्रचण्डविरुद्ध भ्रम फैलाएको आरोपमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी

प्रभातफेरी अनलाइन५२७ पटक पढिएको | २०८२ आश्विन २९, बुधबार
प्रचण्डविरुद्ध भ्रम फैलाएको आरोपमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का सहायक संगठन वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले समाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गलत सूचना र भ्रम फैलाउने कार्यमा संलग्न भएको आरोप लगाउँदै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेधि र अधिवक्ता बालकृष्ण न्यौपाने विरुद्ध केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा ज्ञापनपत्र बुझाएका छन् ।

वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटा को संयुक्त हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा हालैको जेनेजी आन्दोलनपछि विभिन्न व्यक्ति तथा समूहहरूले प्रचण्ड र माओवादी केन्द्रविरुद्ध निराधार र उद्देश्यप्रेरित आरोप लगाउँदै जनतामा भ्रम फैलाउने कार्य गरेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा सुवेधि र न्यौपानेले सामाजिक सञ्जाल तथा मिडिया माध्यममार्फत “घर जलाएको थोक दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लुटिएको” भन्ने झूटा र तथ्यहीन प्रचार प्रसार गरेको जनाइएको छ। सो कार्य साइबर अपराध अन्तर्गत पर्ने भएकाले उनीहरूमाथि तत्काल कानूनी कारबाही गर्न माग गरिएको छ।

साइबर ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन्द आर्याल लाई ज्ञापनपत्र बुझाउँदै वाइसिएल अध्यक्ष पुष्प ओलीले भने, “माओवादी विधिको शासनमा विश्वास गर्छ, तर निष्पक्ष छानबिन नभए कडा संघर्षमा उत्रिन बाध्य हुनेछौं।” उनले थपे, “हामी हतियारविहीन सेना हौं, अझै पनि सयौँ साथीहरूले शरीरमा गोलीका छर्रा बोकेका छन्। हजारौँको बलिदानबाट आएको यो व्यवस्था मेट्न गणतन्त्रविरोधीहरूले आक्रमण गरिरहेका छन्। अब वाइसिएल मौन बस्दैन।

वाइसिएल उपाध्यक्ष हरि ढकालले जेनेजी आन्दोलन रुपान्तरणको आन्दोलन रहेको बताए | त्यसमा माओवादीको समर्थन स्पष्ट छ। तर प्रहरी पुराना अधिकारीहरूलाई बचाउने खेलमा लागे वाइसिएल मौन रहने छैन।नेताहरु जस्तै प्रहरीमा पनि रुपान्तरण जरुरी छ ।

साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द आर्याल ले विधिको शासन कायम राख्न कुनै पनि कसुर बाँकी नराखी छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे। ” सत्य तथ्यको आधारमा छानबिन अघि बढाइनेछ र कसैलाई अन्याय गरिँदैन।”

वाइसिएल र अखिल (क्रान्तिकारी) को केन्द्रीय सर्कुलर अनुसार आज देशका सबै मुख्य जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरूमा पनि सोही विषयमा ज्ञापनपत्र बुझाइएको छ।

दुवै संगठनले भ्रम फैलाउने गतिविधि रोक्न युवाहरू र विद्यार्थीहरूलाई सचेत रहन आह्वान गर्दै भनेका छन्, “सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुनेछैन, आवश्यक परे सडकमा प्रतिवाद गरिनेछ।”