logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न १६ सय नयाँ पूर्वाधार निर्माण गरिने

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ३, बुधबार(२ घण्टा अघि)
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न १६ सय नयाँ पूर्वाधार निर्माण गरिने

काठमाडौं । सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्न करिब १६ सय नयाँ दूरसञ्चार पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार आगामी आर्थिक वर्षमा नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा सेवा विस्तार र स्तरोन्नतिका लागि ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ। दूरसञ्चार क्षेत्रको विकासमा मन्त्रालयको बजेटभन्दा बढी रकम नेपाल टेलिकममार्फत खर्च हुने उनले बताए।

हाल देशभर चार हजार ८२९ दूरसञ्चार साइट सञ्चालनमा रहेका छन्। अध्ययनका आधारमा थप एक हजार ४४३ साइट आवश्यक रहेको पहिचान गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। प्रदेशगत रूपमा कोशीमा २५७, मधेसमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ नयाँ साइट आवश्यक रहेको बताइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनअनुसार यी पूर्वाधार निर्माणपछि देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। आवश्यकताभन्दा बढी पूर्वाधार सुनिश्चित गर्न करिब १६ सय साइट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको मन्त्री तिमिल्सिनाले बताए।

विदेशबाट दूरसञ्चार उपकरण आयात गर्नुपर्ने भएकाले निर्माण कार्यमा केही समय लाग्न सक्ने भए पनि मन्त्रालयले सम्बन्धित सेवा प्रदायकहरूसँग समन्वय गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएको उनले जानकारी दिए।

सरकार नागरिकका दूरसञ्चार सेवासम्बन्धी गुनासाप्रति संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय सञ्चार सेवाको पहुँच विस्तारका लागि तीव्र गतिमा काम भइरहेको बताए।