प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
जाजरकोट / जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बिहीबार साँझ दुर्घटना भएको हो। नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।
प्रहरीका अनुसार जीप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार भएका थिए। उनलाई सोही राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।