logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

गरिमा चौधरी बलात्कारपछि हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न अखिल नेपाल महिला संगठनको माग

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
गरिमा चौधरी बलात्कारपछि हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न अखिल नेपाल महिला संगठनको माग

बारा / सिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति अखिल नेपाल महिला संगठन केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत विद्यालय दशबिगाहा नर्सरीमा अध्ययनरत बालिका चौधरी साउन ३१ गतेदेखि सम्पर्कविहीन रहेको र खोजीका क्रममा भदौ २ गते आफ्नै घरनजिकैको एक घरमा विभत्स अवस्थामा मृत फेला परेको जनाएको छ।

अबोध बालिकामाथि भएको क्रुर तथा जघन्य अपराधले महिला जगत् र समग्र मानवतालाई स्तब्ध बनाएको भन्दै संगठनले घटनाको घोर भत्र्सना गरेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि भइरहेका हिंसाका घटनाप्रति समेत संगठनले चिन्ता व्यक्त गरेको छ।

संगठनले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेको छ। यस्ता घटना दोहोरिन नदिन उच्च निगरानी र सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

साथै, आम नागरिक, विशेषगरी महिला तथा बालबालिकाको जिउधन र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारसँग संगठनले माग गरेको छ।

अखिल नेपाल महिला संगठनले मृतक बालिका गरिमा कुमारी चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा सजाय सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ।