logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

भोटेकोशी बाढीबारे नेपाल–कोरिया छलफल, थप सहयोगको प्रतिबद्धता

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
भोटेकोशी बाढीबारे नेपाल–कोरिया छलफल, थप सहयोगको प्रतिबद्धता

काठमाडौँ / तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, उद्धार तथा खोजी कार्यको पछिल्लो अवस्थाबारे छलफल भएको छ। बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता छन्।

विदेशमन्त्री चोले बेपत्ता कोरियाली नागरिकको खोजी तथा उद्धारबारे जानकारी लिँदै आवश्यक परे थप सहयोग र प्राविधिक जनशक्ति नेपाल पठाउन आफ्नो सरकार तयार रहेको बताएका छन्। हाल दक्षिण कोरियाको ‘कोरिया डिजास्टर रिलिफ टिम’ नेपालमा उद्धार कार्यमा खटिएको छ।

परराष्ट्रमन्त्री खनालले बेपत्ता कोरियाली नागरिकको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै विपद्का बेला कोरिया सरकारले गरेको सहयोग र सद्भावप्रति धन्यवाद दिएका छन्। उनले बाढीपीडितका लागि कोरिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत आभार व्यक्त गरे।

खनालले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार दिगो तथा सुरक्षित पूर्वाधार निर्माण गरिने बताए। यसका लागि कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे।

भेटमा विदेशमन्त्री चोले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेका जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्का विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भोगेका जलवायुजन्य चुनौती र क्षतिबारे संयुक्त रूपमा आवाज उठाउने तथा जलवायु क्षतिका लागि नेपालले प्राप्त गर्नुपर्ने अन्तर्राष्ट्रिय वित्तीय सहयोगका विषयमा कोरियाले समेत पैरवी गर्ने प्रतिबद्धता चोले व्यक्त गरेका छन्।