प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै दुलालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएकाले वैकल्पिक नाकाका रूपमा रहेको तातोपानी नाका खुलाउन तत्काल कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे।
लामो समयदेखि तातोपानी नाका बन्द हुँदा दशैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्न सक्ने उनले बताए।
कोरला नाकामा चिनियाँ पक्षले मुस्ताङबाहेकका जिल्लाका चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालकसमेत नभएको दुलालले उल्लेख गरे।
भोटेकोशी बाढीका कारण व्यवसायीले ठूलो क्षति व्यहोरेको र नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने भन्दै उनले तातोपानी नाका अविलम्ब सञ्चालन गर्न सरकारसँग जोडदार माग गरे।