प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / बालाजु होटल व्यवसायी संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको संगम बाटिका पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र प्रजापतिले पर्यटन प्रवद्र्धन र होटल व्यवसायको विकासका लागि आफूले आवश्यक सबैखाले सहयोग गर्न तथा नीतिगत निर्णय गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रजापतिले पर्यटन क्षेत्र मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान र पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष *टी.आर. भण्डारी (शंकर)*ले बालाजु होटल व्यवसायी संघलाई महासंघसँगै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समग्र होटल व्यवसायीको हित, व्यवसायको प्रवद्र्धन तथा समस्या समाधानका लागि आफू निरन्तर सक्रिय रहेको बताउँदै व्यवसायीको हकहितका लागि अहोरात्र मेहनत गरिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले स्थानीय व्यवसायीका समस्या समाधान तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आफू व्यवसायीको पक्षमा काम गर्न र आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।
बालाजु प्रहरी वृत्तका प्रमुखले होटल तथा पर्यटन व्यवसायमा शान्ति–सुरक्षा महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै सुरक्षा सम्बन्धी आवश्यक सहयोगका लागि प्रहरी सधैँ तयार रहेको बताउनुभयो। उहाँले व्यवसायीहरूलाई प्रचलित कानून र मर्यादाभित्र रहेर व्यवसाय सञ्चालन गर्नसमेत अनुरोध गर्नुभयो।
कार्यक्रममा बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खातीले व्यवसायीको एकता, सहकार्य र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार टीका बहादुर रायमाझी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका कार्यवाहक अध्यक्ष भवेश्वर दुबेलगायत होटल तथा पर्यटन क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम पुस्तिकामा विभिन्न होटल तथा पर्यटन व्यवसायी संघका प्रतिनिधि, स्थानीय प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता उल्लेख गरिएको छ।
सभाको बन्दसत्र संघका सचिव तिलक श्रीपालीले सञ्चालन गर्नुभएको थियो। बन्दसत्रमा महासचिव लेखनाथ खरालले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष गंगा बहादुर खातीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समापन संघका प्रथम उपाध्यक्ष नरिश्वर गौतमले गर्नुभएको थियो।